बी.पी. संग्रहालयको अवलोकन : महेन्द्र चालिसे (संस्मरण )
कपन अनलाइन
काठमाण्डौ , जेष्ठ ५ ।
“कानूनको बलिवेदीमा कोही पनि निर्दोष मानिस पर्नु हुँदैन ।”
– बी.पी.कोइराला
सुन्दरीजल त धेरै पटक गइएको थियो, तर त्यहाँ स्थित बी.पी.संग्रहालयमा धेरै अघिदेखि जाने जमर्को गरेको हो, खै किन हो किन अनुकूल नै मिलेको थिएन । यो अनूकुल २०८१ वैशाख १९ गते अर्थात् २०२४ मे १ तारिख विश्व मजदूर दिवसको दिन मिल्यो, त्यो पनि संयोगवस केही साथीहरुले बराहक्षेत्रमा चलिरहेको कुम्भ मेला जाने प्रस्ताव राखेका थिएं तर, सवैलाई अनुकूल मिलेन र नजाने भइयो ।
‘दाइ बराहक्षेत्र नगए पनि कतै घुम्न जाउँ त्यो दिन’ बद्रिजी भन्छन् र जाने ठाउँ पनि उनै निर्धारण गर्छन । विशंखु नारायण भनेर ५ जना जाने भइयो, तर अघिल्लो दिन साँझ ४ बजे बद्रिजी फोन गरेर भन्छन्– “दाई मेरो आफन्त सिकिस्त भएर अस्पताल ल्याएको छ रे भोलि जान मिलेन ।
ल ठिक छ– मैले जवाफ दिएँ, “अनि झट्ट संझना आयो बी.पी. संग्रहालयको ।
२०७२ सालको भुकम्पको प्रकोपबाट सुन्दरीजलस्थित बी.पी.संग्रहालय पनि अछुतो रहेन भन्ने समाचारमा पढेको थिएँ । त्यसपछि बन्द छ रे भनेर पनि सुनेको थिएँ । त्यसैले गयो गयो वन्द रहेछ भनेत बेकार भयो । त्यसैले पहिला खुलेको छ कि छैन, फेरि राष्ट्रिय विदाको दिन अघिपछि खुलेको भएपनि त्यो दिन वन्द पो हुने हो कि ? आदि सोच आएपछि पहिला बुझौं न त” भन्ठानें बुझ्ने त बुझ्ने तर बुझ्ने पो को संग ? कसैलाई त चिनेका छैन । त्यसैले अध्यक्षसंगै बुझ्नुप¥यो ।
बी.पी.संग्रहायलका संस्थापक अध्यक्ष परशुराम पोख्रेल, हामी उनलाई भाइ नै भन्थ्यौं र भन्छौं पनि । अलि धेरै भयो उनिसंग सम्पर्क नभएको, तर पहिला पहिला त धेरै सहयोगी थिए । सायद २०३७ ३८ सालतिर उनी वीर अस्पतालमा काम गर्थे, त्यहीताक हाम्रो आमाको ब्रेस्ट क्यान्सरको वीर अस्पतालमा डाक्टर दिनेशनाथ गोंगल, डा.मनोहरलाल श्रेष्ठ र डाक्टर उपेन्द्र देवकोटाले अप्रेसन गरेका थिए । त्यतिबेला परशुराम पोख्रेलबाट हामीले धेरै मद्दत पाएका थियौं । साँच्चै भन्ने हो भने त्यसपछि उनीसँग खासै सम्पर्क थिएन । यसो आक्कल झुक्कल भेट्दा “के छ ? ठीक छ” मै सिमित थियो ?
परशुरामको मसँग फोन नम्बर थिएन, मात्र मेसेन्जरमा साथी थियौं । १८ गते राती ८ बजे यसो मेसेन्जरमा खोजेको अनलाइन थिएनन्, तैपनि खवर पठाए– ‘परशुरामजी÷भाइ नभनेर जी थपें, किनकि यत्रो सम्पर्क नभएको मान्छे फेरि भाइ भन्दा के भन्ठान्ने हो, जस्तो लाग्यो । बी.पी. संग्रहालय भोलि खुल्छ ? यसो आउने विचार गरेको भनेर । त्यस्को केहीवेरमा जवाफ आयो– दाइ, १० वजेपछि आउनोस् न, अनि आउनु अघि मलाई फोन गर्नोस्न है ।” मलाई तपाईंको नम्बर पठाइदिनोस् न, मेसेज पठाएँ र परशुरामले केही वेरमै आफ्नो मोवाइल नम्बर पठाई दिए ।
१९ गते खाना साना खाएर हामी पाँचजना– म, इन्दिरा, पूर्णचन्द्र जोशी, नारायण जोशी र तारा जोशी सुन्दरीजलतिर लाग्यौं । हामी दश मिनेट जतिमा बी.पी. संग्रहालय अर्थात् आर्शनल, जहाँ २०१७ साल फागुन महिनामा बी.पी.कोइराला, गणेशमान, सूर्य प्रसाद उपाध्याय, किशुन जी, रामनारायण मिश्र, प्रेमराज आङ्देम्बे, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुंगलाई बन्दि बनाएर थुनिएको थियो । अनि आर्शनल जहाँ तत्कालिन शाही नेपाली सेनालाई आबश्यक बारुद वनाइन्थ्यो ।
जब हामी त्यहाँ पुग्यौं ढोका वन्द थियो र एक जवान पुलिस गार्ड बसेका थिए । हामीले आफ्नो परिचय दिएर संग्रहालय हेर्न आएको भन्यौं, तर उन्ले वन्द छ खोल्न मिल्दैन भन्ने जवाफ दिए । अझ हामीले यहाँको अध्यक्षज्यूले बोलाएर आएको भन्दा पनि ढोका खोलिदिन मानेनन् । त्यसपछि परशुरामजीलाई फोन गरेर सबै कुरा बताएपछि उनले “दाई” केही वेरमा आइपुग्छु । फोन पुलिसलाई दिनोस् न” भनेपछि मैले मेरो फोन पुलिसलाई दिएं । केहीवेर कुरा गरेपछि पुलिसले मलाई फोन फिर्ता गर्दै, ढोका खोलिदिए अनि वाहिर पाकिंगमा राखेको गाडी पनि भित्रै ल्याउनोस् भने ।
हामी भित्र पस्यौं, सवैतिर ढोका वन्द छ । अब परशुराम भाइलाई कुर्नु वाहेर अरु त उपाय थिएन । अलिपर ह््यांगरमा एउटा ट्विनओटर विमान देखिन्छ । हामी त्येतै लाग्छौं । पंचायती व्यवस्थाको विरोध गर्दै विभिन्न आन्दोलन गर्ने गरेका थियो नेपाली कांग्रेसले र त्यही क्रममा त्यो विमान २०३० सालमा जेठ २८ गते नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरबाट हाइज्याक गरिएको थियो । त्यो विमान २०७० साल कार्तिक ४ गते सम्म नेपाली आकाश उड्थ्यो ।
२०७० साल फागुन ४ गते अर्घाखाँचीमा दुर्घटनामा परेपछि परशुराम पोख्रेलको ठूलो संघर्ष र सक्रियतामा पुनः पुरानै स्वरुपमा बनाएर संग्रहालयको प्रांगंणमा राखिएको छ ।
हामी त्यही हवाइजहाज र अपहरणको बारेमा कुरा गर्दै समय विताइरहेका थियौं, त्यहाँ त्यस संग्रहालयमा कार्यरत एउटी बहिनी “नमस्ते सर” भन्दै आउनुभयो । उहाँलाई परशुरामजीले “हामीलाई त्यहाँ घुमाइदिनु, म आइपुग्दैछु” भनेर फोन गर्नुभएको रहेछ । ति बहिनीले त्यसपछि त्यो प्लेनको ढोकाको सांचो मगाएर ढोका खोल्न लगाउनु भयो र हामीलाई प्लेन भित्र गएर हेर्ने अवसर दिनुभयो । त्यसपछि उहाँले संग्रहालय खोल्नुभयो र बी.पी., गणेशमान, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र लगायतलाई थुनेको कोठा उनीहरुको भान्छा कोठा, वैठक कोठा, उनीहरुले प्रयोग गरेको त्यतिवेलाको ट्वाइलेट, त्यतिवेलाका कुर्सीहरु, बी.पी. प्रधानमन्त्री हुंदा लगाएका लुगा, गणेशमानका लुगा, उनीहरुले प्रयोगको भान्छाको भांडाकुँडा, आदि इत्यादि सवै देखाउनु भयो ।
सुन्दरीजलमा लामो समय बन्दी बनाइ थुनामा राखिएको थियो बी.पी. कोइरालालाई र त्यसैले उनैको सम्झनामा बी.पी.सङ्ग्रहालय स्थापना गरेर उपलबध भए सम्मको उनले त्यतिबेलामा प्रयोग गरेका सामाग्री लगायत अरु महत्वपूर्ण दस्तावेजहरु संग्रह गरेर राखिएको उक्त संग्रहालय २०७२ सालको भूकम्पमा धेरै क्षति पुग्यो र त्यहाँ संग्रहित वस्तुहरु पनि पुनः लथालिंगको अवस्थामा पुग्यो । त्यसलाई पुन निर्माण गरी व्यवस्थित गर्ने क्रम जारी नै रहेकोले हाल उक्त संग्रहालय परिसर सर्व साधारणका लागि खुला गरिए पनि भित्र कोठाहरु र संग्रहालय खोल्ने गरिएको छैन । तर परशुरामजी र ति बहिनीको सौहार्द्रताका कारण त्यसदिन हामीले ती सवै अवलोकन गर्ने अवसर पायौं । हाल सबै सङ्ग्रहित वस्तुहरु एउटै कोठामा राखिएपनि ती सवैलाई छुट्टा छुट्टै राखिने छ र त्यो काम गर्ने अभैm केही समय लाग्ने छ र साँच्चै भन्ने हो भने संग्रहालयको विधिवत उद्घाटन भएपछि सर्वसाधारणका लागि खुला गरिने छ । ती सबै कोठाहरु र त्यहाँ संग्रह गरेका सबै वस्तुहरुको अवलोकन गरिसकेर हामी वाहिर प्राङ्गणमा राखिएका बी.पी., गणेशमान, कृष्ण प्रसा भट्टराई, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनहरुको शालिकको फोटोहरु र त्यहाँ आफ्ना फोटोहरु लिएर हेर्दै थियौं परशुराम जी आइपुग्नु भयो र एकडेढ घण्टा विगतका सम्झनाहरु ताजा पार्दै उहाँको अफिसमा मिठो चिया खाएर फेरी फेरी भेट्ने वाचा गर्दै हामी त्यहाँबाट विदा भयौं– बी.पी.सङ्ग्रहालयको मनमा अमिट छाप लिएर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।