अधुरो : शान्ता तिम्सिना (लघुकथा)
कपन अनलाइन
काठमाडौं , बैशाख १५।
किन आज यिनीहररू झगडा गर्दै छन् ? ‘ठुल्ठुलो आवाज सुनेर सन्ते त्यतैतिर लाग्यो । त्यहाँ पिपल र सुन्तलाका बोट आपसमा तँ ठुलो कि म ! भनेर झगडा गर्दै थिए ।
पिपल भन्दै थियो; ‘म त मानवको लागि निकै उपयोगी पो छु, किन कि म अक्सिजन दिन्छु ।’
‘म त झन् मानवको लागि रसिलो फल दिन्छु ।’ सुन्तलाले जुँगा मुसार्दै भन्यो ।
‘मलाई त झन् सबैले पूजा गर्छन् ।’ पिपलले मन्द मुस्कान छर्दै भन्यो ।
आखिर तिमीलाई चढाउने फल त मेरै बोटमा फल्छ नि !’ सुन्तला दम्भले फुल्दै थियो ।
सन्ते टुप्लुक्क पुग्यो । दुवैको झगडा सुनेर विस्तारै भन्यो– ‘ल, तिमीहररूमा को ठुलो हो ? छिटो निर्णय गर त ! जो ठुलो छ, उसैलाई लान्छु, म ।’
सन्तेले बन्चरो ताकेको देखेर दुवै डराए । ‘सुन्तला रसिलो, मिठो भएकोले ठुलो छ, हजुर! उसलाई लानुहोस्, मलाई लगेर केही फाइदा छैन ।’ चनाखो भएर पिपल बोल्यो ।
सुन्तला बोल्न के खोज्दै थियो, ऊमाथि सन्तेले धारिलो बन्चरो प्रहार गर्यो । ऐय्या ! गर्दै सुन्तला बजारियो ।
घमण्डले गर्दा साथी गुमाएँ, आखिर मित्रतामा सानो ठूलो कहिल्यै हुदैन् ‘पिपललाई पछुतो भयो ।
रातभरि निदाउन नसकेर आँखा राता राता पारेको पिपल भन्दै थियो – ‘साथी बिनाको जिन्दगी त अधुरो हुँदोरहेछ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।