ट्याक्सी व्यवसायी सहमतिमा आउन तयार
काठमाडौँ, २८ साउन । सरकारले ट्याक्सीको नयाँ दर्ता खुला गरेपछि आन्दोलनमा उत्रिएका ट्याक्सी व्यवसायी सहमतिमा आउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबारदेखि सुरु वार्ता सकारात्मक रुपमा अगाडि बढेको सङ्घर्ष समितिले जनाएको छ । सरकार ट्याक्सीका विषयमा अध्ययन गर्ने समिति गठन गर्न तयार भएपछि सहमति हुन लागेको समितिका अध्यक्ष प्रकाश बस्नेतले बताउनुभयो ।
विसं २०५७ पछि पहिलो पटक सरकारले २०७२ असार ३ गते निर्णय गरी नयाँ ट्याक्सी दर्ता गर्ने उल्लेख गरेको थियो । सरकारको निर्णयलगत्तै ट्याक्सी व्यवसायीको एक समूह आन्दोलनमा उत्रिएको थियो ।
भूकम्पपीडितलाई ट्याक्सी ल्याउन शतप्रतिशत मूल्य अभिवृद्धिकर, भन्सार र आयकरमा छुट दिइनुपर्ने पनि समितिको माग छ ।
मन्त्रालयका निर्माण तथा यातायात महाशाखा प्रमुख रवीन्द्रनाथ श्रेष्ठले ट्याक्सी व्यवसायीसँगको वार्ता सकारात्मक रुपमा अघि बढिरहेकाले छिट्टै सहमतिमा पुगिने बताउनुभयो । “यसअघि ट्याक्सी दर्ता गर्ने निर्णय मन्त्रालय र यातायात व्यवस्था विभागका प्राविधिक रहेको समितिले गरेको हो, यस विषयमा अध्ययन गर्न समिति बनाउन सकिने कुरा हामीले बैठकमा राखेका छौँ, व्यवसायी पनि सहमतिमा आउन तयार हुनुभएको छ” – उहाँले भन्नुभयो ।
सरकारको निर्णयको विरोधमा व्यवसायीले वाग्मती यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना, रिले अनशन र घेराउलगायत कार्यक्रम गर्दै आएका छन् । व्यवसायीको एक समूहले काठमाडौँ उपत्यकामा ट्याक्सी चल्न नदिँदा यात्रु मर्कामा पर्दै आएका छन् । सडकमा गुडेका ट्याक्सीलाई बलपूर्वक आन्दोलनमा लैजाने र नगए तोडफोडमा उत्रने गरेको ट्याक्सी व्यवसायी किरण गिरीले गुनासो गर्नुभयो ।
विरोधमा उत्रेको समूहले अर्को समूहले चलाएको ट्याक्सी चल्न नदिँदा बिरामी एवम् आकस्मिक रुपमा काममा निस्कने मानिस समस्यामा पर्नुपरेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।