कुल्चिएको धरातल : पुष्पा बोगटी (कविता )
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
जीवन, मरेको एउटा यथार्थ हो माइलीको
जहाँ मर्नुको उपाय धेरै थियो र
बाच्नुको अर्थ केही थिएन ।
त्यस्तो पहरामा पनि चट्याङ परेको बेला
बा र आमाको सपना छोरीको घर बन्नु थियो ।
तर अपसोच !
मरेका मान्छेहरूको चिहानको घर छ ।
तर जिउदी माइलीको
जीवनमा एउटा घर भत्किएको थियो ।
माइतीको गरिबीको लान्छना लागेको ।
दाइजोको विपत्तिले आकाश खसेको ।
उनको अस्मितामाथि समाजले गिज्याएको ।
छर्लङ्ग देखिन्थ्यो माइलीले वेदना बिछ्याएको ।
उनले वाक्य फुटाउनु भनेको
बा आमालाई पिरोल्नु हो ।
साहस नभएकी बेकामकी
गरेर खान नसक्नु हो ।
उनि आफै लज्जित हुनु हो या भनौ
उनले समाजका लागी बदनामी
आइमाईको उपनाम लिनु हो ।
पुरुषलाई समाजले पुरुष भएकै भरमा
पुरुषार्थ हुनुको प्रमाणपत्र दिएको छ ।
स्वास्नी मान्छेलाई, दबाउन सक्ने
सामथ्र्य र शक्ति दिएको छ ।
बजारमा स्वास्नी मान्छेको चरित्र
सस्तोमा पाइदो रहेछ हजुर !
यहाँ मूल्यवान त लोग्नेमान्छे हो ।
उ छाती फुलाउछ, उ इज्जत बनाउँछ ।
जसरी एउटा थाप्लोमा दुइटा नाम्लो राखे सरह
उसले स्वास्नीहरु, थप्नुमा पनि उ गर्व गर्छ ।
यहीँ बेला मेरो देशले हेरिरहन्छ रमिता
आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या ।
अर्धचेतमा छ मेरो देश !
यहाँ अपराधी, ज्यान मारालाइ आम माफी दिइन्छ ।
सरकार कृपा गरेर !
न्यायलयको भित्तामा
अब एउटा यस्तो सुचना, सार्वजनिक गरियोस् ।
जहाँ लेखिएको होस् (चोरलाई चौतारी र साधुलाई सुलि)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक