रिलायन्स साहित्य समाजको श्रस्टा सम्मान तथा चौधौ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,पुस १ ।
रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गत स्थापित रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा. हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गरेको छ ।
रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर “राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम” आयोजना गर्दै आएकोमा यस वर्ष मिति २०८०/०८/३० गते शनिबार स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व वरिष्ठ साहित्यकार/समालोचक एवं प्राज्ञ प्रा.डा. हेमनाथ पौडेललाई रिलायन्स साहित्य स्रष्टा सम्मान तथा युवा कवि हेम प्रभासलाई रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरेको छ ।
वरिष्ठ साहित्यकार एवम् प्राज्ञ तील विक्रम नेम्वाङ (वैरागी काइँला) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलज्यू लाई रू.२५,००५। राशिको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी युवा कवि हेम प्रभासज्यू लाई रू.११,००५। राशिको रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरिएको छ । रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री रविन्द्रजंग थापाको अध्यक्षता तथा वरिष्ठ साहित्यकार/समालोचक तिल विक्रम नेम्वाङ (वैरागी काइँला) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ कवि कलानिधि दाहाल, प्रा.डा. देवी नेपाल, साहित्यकार रमेश शुभेच्छु, रुपक अलंकार, बलराम दाहाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मानबाट विभिन्न व्यक्तित्वहरु सम्मानित भैसकेका छन ।
समारोहमा डा. रमेश शुभेच्छुले सम्मानित स्रष्टा प्रा.डा. हेमनाथ पौडेलको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् प्राज्ञ तील विक्रम नेम्वाङ (वैरागी काइँला)ले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूलाई लिएर वर्सेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरेका थिए ।उनले विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने बताए ।
रिलायन्स साहित्य समाजद्वारा आयोजित ‘चौधौँ देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता’मा राष्ट्रका २४ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता मङ्सिर २९ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट ५ वक्ताहरू छानिएका थिए र ३० गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच ५ प्रतियोगीहरूबिच अन्तिम प्रतिश्पर्धा गराइएको थियो ।
सो प्रतियोगितामा महेश संस्कृत गुरुकुलम्, देवघाटका छात्र दिग्विजीय लामिछाने प्रथम, टाइम लाइन स्कुल, जोरपाटीकी छात्रा आर्या कार्की द्वितीय, रिपुमर्दनी सैनिक मा.वि.का छात्र सुतृष्ण पौडेल तृतीय, एवम् संस्कृत मा.वि. रानीपोखरीका, छात्र विजय तिमल्सिना र कन्तिभैरव गुरुकुलम्, उत्तरवाहिनीका छात्र गणेश पराजुलीले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन् । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरियो ।