अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ
कपन अनलाइन
काठमाडौं, असोज २६।
खेल प्रेमी सुमन खड्गीले स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुने तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने भएका छन् ।
खड्गी र आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले सो सम्बन्धी सम्झौता पत्रमा बिहीबार एक कार्यक्रमबीच हस्ताक्षर गरे । प्रतियोगिता कात्तिक १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने छ ।
प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । पुरुष÷महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज/गर्ल्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुने छ । आयोजकका अनुसार प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने छ ।
टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल पार्टनरमा डीएचएस तथा पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।