उद्धार : रुद्र ज्ञवाली (लघुकथा)
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
काठमाडौँ, भाद्र २।
ट्रिपर र मोटरसाइकल ठोक्किए छन् । घटनास्थललाई ठूलो भीडले घेरेर राखेको थियो ।
मोटर साइकलमा सवार यात्री सख्त घाइते थियो र ऊ उद्धारको याचना गरिरहेको थियो ।
सडक जाम भएको थियो ।
जाममा थुप्रै प्राइभेट गाडी, एकथान सेतो प्लेटका गाडी र एकथान एम्बुलेन्स पनि खडा देखिन्थे ।
घाइते सडकमै छट्पटाइरहेको थियो । उसको शरिरबाट ह्वाल्ह्वाल्ती रगत बगिरहेको थियो । उसको याचनाप्रति भीडलाई खासै सरोकार थिएन
एउटा झ्यापुल्ले घाइतेको नजिकै पुगेर कुनै गीतमा टिकटक बनाइरहेको थियो ।
युट्युववाला घटनाको दर्दनाक विवरण सहित युट्युवलाइभ गर्दै थियो ।
स्थानीय एफ.एमको समाचारदाताले घटनाका प्रत्यक्षदर्शीहरूको लाइभ अन्तरवार्ता लिइरहेको थियो ।
एकजना ट्याटुवाला दुर्घटनाको विभत्स तस्विर सहित फेसबुक लाइभ गर्दै थियो र भन्दै थियो, सुधिजन यो दुर्घटना भएको लगभग आधा घण्टा भइसक्यो । यतिबेलासम्म न त प्रहरी आएको छ न एम्बुलेन्स । घाइतेको अवस्था चिन्ताजनक छ ।
यत्तिकैमा प्रहरीको विशेष उद्धार टोली घटनास्थल पुग्यो । घटनाको प्रकृति मुचुल्का बनायो र प्रहरीकै गाडीमा राखेर घाइतेलाई अस्पताल पठायो ।
‘आज भएको सडक दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्य । समयमै उद्धार हुन नसकेका कारण नागरिकले अकालमा ज्यान गुमाउन बाध्य । अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको अस्पतालको भनाई ।’ स्थानीय एफ.एमको प्रमुख समाचार थियो ।
‘घाइतेको किन समयमै उद्धार भएन ? यसको दोषी को ? सरकार कि नागरिक समाज ?’ स्थानीय टेलिभिजनले जन अभिमत प्रसारण गरिरहेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।