बलात्कारीको वक्तव्य : पारु स्मारक (समिन)
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
नमस्कार
म बलात्कारी हुँ
मलाई याद छ तथ्यांक
मैले पाँच बर्षमा
एक हजार चार सय उनान्सत्तरी बलात्कार गरे
मनमानी गरे ।
कहिले उसका छोरी, कहिले उसको छोरी
कहिले बुढी, कहिले बालिका,
कहिले महिला, कहिले किशोरी
छानिछानी गरे ।
मलाई कसले रोक्छ ?
मसँग सत्ता छ
मसँग शक्ति छ
मसँग सबको सब ‘पैसा’ छ
मेरो परिचय यो हो कि
मेरो बुबा
कुनै ठूलो पार्टीको ठूलो नेता हुन
मन्त्रीको खास
मेरो बुबाको आसपासमा
सय पचास मान्छे घुमिरहन्छन्
बुबा सबैलाई घुमाइरहनु हुन्छ
म छाती पिटेर भन्न सक्छु
– म बलात्कारी हो
हा…..हा….हा….
मलाई कसैले केही गर्न सक्दैन्
मलाई दया लाग्छ पुलिस, प्रशासनदेखि
यी त मेरा कुकुर हुन
मैले हड्डी जसरी पैसाको बिटो फालेमा
पुच्छर हल्लाउँदै मेरो बफादारी गर्छन्
भिख दिन मन लाग्छ
अदालत, न्यायलयहरुलाई
जहाँ संविधानको धाराको आधारमा हैन
नेताको इसारामा फैसला हुन्छ
क्या बात ! राजनीति हुन्छ त्यहाँ पनि
मसँग पैसा छ
कोही मेरो पोल खोल्न थाले
कि पोल खोल्नेलाइ पोलिदिन्छु
कि पैसाको मुठोको बुझो लगाइदिन्छु
अरे मसँग सरकारको शक्ति छ
आवाज उठाउनेलाइ नै उठाइदिन्छु
सुरुमा थोरै सम्झाइ दिन्छु
अनि डर देखाइ दिन्छु
नमानेमा सकाइदिन्छु
जे होस म बसेको देश
दण्डहीनताको देश
यहाँ दण्डहिन कानुन छ
मैले देखेको छु
बुझेको छु,
त्यो आँखा पट्टि बाँधेर तराजु बोकेको
मतलब यहाँ दृष्टिबिहिन कानुन छ
त्यसैले
मलाई कसैले
केही गर्न सक्दैन
यी भेडाहरु सडकमा आउछन
नारा लगाउछन, कराउछन
थाक्छन, जान्छन्
कसले सुन्छ हल्ला
जबकी मैले सुन्नेहरुको कान पैसाले टालेको छु
तसर्थ यो सडकको नारा जुलुस र हल्लाले
केही हल्लिनेवाला छैन
निला बर्दी लाउनेदेखि लिएर
कालो कोट लाउनेसम्म मेरा गुलाम छन
जबसम्म यी मेरो गुलामी गर्छन
तबसम्म म गुलाब जस्ता किशोरीहरुको
शरीरसँग खेलिरहन्छु
म कलियुगको कंश हुँ
मलाई मार्न कुनै कृष्ण जन्मिनेवाला छैन
किनकी मैले बन्दी बनाएको
बसुदेव र देवकीलाई पहिले नै
नपुंसक बनाइ सकेको छु
म महिषाशुर हुँ
मेरो अत्याचारको अन्त्य गर्न
कोहि देविको जन्म हुन्न
म एकछत्र राज गर्छु
कसैको साहस छैन मलाइ खतम गर्ने
म एकछत्र राज गर्छु
बलात्कारी भएर
उदण्डकारी भएर
तसर्थ सावधान !!
कसले मेरो के बिगार्न सक्छ
मेरो केही बिगार्न सक्नेलाई
मैले पहिलै बिगारिसके ।
हेर आँखामा पट्टि लगाएका न्यायालयहरु
सुन कसैको केही नसुन्ने
प्रशासनहरुले के सक्छौ ?
बोल हचुवामा हावा बोल्ने
मिडियाहरु
के गर्छौ गर
म बलात्कारी हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक