जूनसँग आग्रह : भोलानाथ सुबेदी (कविता )

जूनसँग आग्रह : भोलानाथ सुबेदी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

ए ! जून
तँ शिरमा छस् र
म भाग्यमानी छु
तँ हातमा छस् र
म कर्मवीर छु
तँ सधैं दाहिना भैदिए
दुःख भोग्नु पर्दैन दुनियाँले
त्यसैले
ए ! जून
अँध्यारा गल्छीहरु
छिचोलेर पुग्नु छ
शिखरमा

भन्नू छ दुनियाँलाई
हेर सभ्यता उदाएको
मेरो मुलुक
भुईँमा परेको शीतमा
पाइला पखालेर
घाम उदाउने देश मेरो हो
हिन्दु ,बौद्ध ,मुस्लिम
अँगालो हालेर
नाच्ने सभ्यता मेरो हो
बहुलतामा एकत्व रोज्न
भाइमा कसिलो भातृत्व खोज्न
अलिकति उज्यालोले दे
त्यही उज्यालोले
थप्ने छु
फूलहरुमा रङ्ग
मुहारहरुमा खुसी
तस्बिरहरूमा कान्ति
हिमालका हिउँसँग
मीत लगाएर
ओढ्ने छु उज्यालो बर्को
र दुनियाँलाई देखाउने छु
चेतनमार्ग
ए ! जून
ज्ञानलाई प्रदीप्त बनाउन
चिन्तामा चिन्तन घोल्न
निराशामा आशा देख्न
आलोकित बनाउन धर्ती
फक्रन नपाउँदै निमोठिएका कोपिलाहरुमा
श्वास भर्न
अलिकति उज्यालो दे
त्यही उज्यालोमा हेरेर
चरित्र बदल्नु छ
निर्दयता पखाल्नु छ
समृद्धिको दैलो उघारी
मुसुक्क हाँस्नु छ
तँ जस्तै
सत्य बन्नु छ
बुद्ध जस्तै
यौटा नौलो भविष्यका लागि
ए ! जून
अलिकति उज्यालो दे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।