ज्योतिष : मुरारीराज मिश्र (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३ ।
‘यसो छोरा–छोरीको चिना टिपन देखाऊँ कि भनेर आएको, पसल सबै भद्रगोल छ त गुरु ! के भयो ?’ रमेशले मोटरसाईकल रोक्दै भन्यो ।
‘के हुन्थ्यो हजुर, गरि खान नदिने भए ! नगरपालिकाबाट आएको डोजरले टहराको सटर भत्काएर गयो । सबै सामान हटाएर टहरा एकफिट पछाडि सार्नु भनेका छन् ।’ पूजासामाग्रीको पसल चलाउँदै आएका ज्योतिषको काम समेत गर्ने प्रकाश गुरुले भुत्भुताउँदै भने ।
‘टहराले बाटो मिचेको जस्तो त देखिन्न ! किन भत्काएछन् त !’ भन्ने रमेशको जिज्ञासामा गुरुको भनाइ आयो ‘आफ्नै जग्गामा बनाएको हो नि । बाटोको मापदण्डअनुसार तीन फिट जग्गा
छोड्नुपर्नेमा दुई फिटमात्र छोडियो रे ! सक्नेले खोलाको बगर, बाटो र सार्वजनिक जग्गा मिचेर बिल्डिङ ठडाएका छन् । हामी निर्धाले भने आफ्नै जग्गा पनि भोगचलन गर्ने नपाउने । यो कस्तो मत्स्य न्याय हो खै, क्यै बुझिएन हजुर !’
प्रकाश गुरुको भनाइपछि, निजकी पत्नी निर्मला, जो यतिबेलासम्म सामान मिलाउँदै चुपचाप दुबैको संवाद सुनिरहेकी थिइन् । उनले पतिको मुख हेर्दै भनिन्, ‘सरकारले ठाउँ ठाउँमा घरटहरा भत्काउँदैछ । हाम्रो टहरा पनि भत्किने हो कि भनेर मैले त केही पहिलेनै भनेको हो नि, तर हाम्रो केही हुन्न भनेर तपाईंले कानमा बतास लगाउनु भएन ! बेलैमा सोचेको भए अहिले यस्तो क्षति व्यहोर्नुपर्ने त थिएन ! खुबै ज्योतिषी हेर्दै अर्काको भविष्य बताउनु हुन्थ्यो नि, आफ्नै भविष्य चाहिँ आफैंले थाहापाउनु भएन छ त !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।