उपत्यका प्रहरी कार्यालय र बुढानिलकण्ठ बिच समझदारी पत्रमा हस्ताक्षर

उपत्यका प्रहरी कार्यालय र बुढानिलकण्ठ बिच समझदारी पत्रमा हस्ताक्षर

कपन अनलाइन

काठमाण्डौ , बैशाख १२।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानिलकण्ठ नगरपालिका बिच  सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय हात्तीगौडामा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका छन  ।

बुढानिकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवं सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो ।

बुढानिकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसिटिभि जडानको लागि लागत ईस्टिमेट बमोजिम ५ करोड रूपैयाँको बोलपत्र आव्हान गरी चालू आ.ब. २०७९/८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्किवापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौता बमोजिम हुने बाँकी रकम आगामी आ.ब. २०८०/०८१ मा भुक्तानी हुने गरी बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।

साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।