काठमाडौं उपत्यकाका तीन नगर प्रमुखहरु जापानमा आयोजित विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रममा सहभागी
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २३ । उपत्यकाका तीन नगरपालिका प्रमुखहरु जापानमा आयोजित विपद् जोखिम न्युनिकरणसम्बन्धी कार्यक्रममा सहभागी भएका छन्। जापान इन्टरनेशनल को-अपरेसन एजेन्सी (जाइका) र डीआरआर गर्भमेन्ट प्लानिङसम्बन्धी तालिममा उनीहरुले सहभागीता जनाएका हुन ।
जापानको टोकियोस्थित जाइका टोकियो सेन्टरमा आयोजित तालिममा जापान सरकारको नगरपालिकादेखि प्रदेश सरकार, केन्द्रीय सरकारको प्रधानमन्त्री कार्यालय र अन्य विभिन्न मन्त्रालयहरू, एजेन्सीहरूको जिम्मेवारी, भूमिका साथै आपसी समन्वयका विविध पक्षमा छलफल भएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले जानकारी गराएका छन । उक्त तालिममा प्राध्यापक सोतारू निसिकुवालगायतका व्यक्तिहरूको कार्यपत्र प्रस्तुति, स्थलगत अध्ययन र अवलोकन भ्रमण ज्ञानबर्धक र उपलब्धिपूर्ण भएको पनि प्रमुख कार्कीले जानकारी दिएका छन ।
उक्त तालिममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख सहित सूर्यविनायक नगरपालिकाको नगर प्रमुख बासुदेव थापा, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि तथा नेपाल सरकारका विभिन्न मन्त्रालयका ५ जना वरिष्ठ कर्मचारीहरूको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी भएपश्चात भूकम्प, बाढी-पहिरो, समुद्री आँधी, ज्वालामुखी विष्फोटजस्ता बारम्बार दोहोरिने दुर्घटनाबाट बच्न जापान सरकारले अध्ययन-अनुसन्धान, नीति निर्माण, कार्यक्रम सञ्चालनमा गरेका प्रयासहरुको बारेमा जानकारी लिएको समेत नगर प्रमुख कार्कीले जानकारी गराएका छन ।