प्रेमपत्र : अविचल आस्था मणि (कविता )

प्रेमपत्र : अविचल आस्था मणि (कविता )

कपन अनलाइन
काठमाडौं, फागुन २०।

लेखेँ पत्र सफा खुला हरफमा सौजन्यमा सादर
आत्माको अनुराग भन्छ सुकिलो सद्भाव पैदा गर ।
नाता जन्म हजार लाख अथवा कोटी अनेकौँ जुनी
साथै साथ बिताइयो बुझ कुरा साक्षात् बनेका मुनी ।।

गर्ने हो उपकार भन्छ मनले संसारको जो सक्यो
गर्दा मात्र सुकर्म दिव्य तरिका आरोग्य साथी रह्यो ।
एकाकार भएर आत्म दुइको सौभाग्यमा चम्कियो
सेवाको शुभ भावना हृदयमा आनन्द झन् पन्पियो ।।

प्रेमी उत्तम छौ खुला भगवती गुल्जार पार्ने घर
आत्मा खोल्दछु चाखले हजुरमा गर्दैै सधैं आदर ।
जानेको उपकार गर्छु भवको इच्छा छ सेवा गरूँ
साक्षी ईश्वर छन् सदैव रसिला सन्तोष पाई मरूँ ।।

केही गर्न बिगार छैन मनमा इच्छा र ताना पनि
गर्ने आदर भक्तिभाव गहिरो ठूला र साना भनी ।
गर्ने भेद रहेन कत्ति मनमा सन्तोष पाएँ डुली
अर्काको हक भोग खोस्दिन कसै आनन्द भित्रै घुली ।।

लेखेँ सादर प्रेम पत्र अहिले पाएर यो जीवनी
बाँड्ने अक्कल पाइयोस् सहजमा खोजेर सञ्जीवनी ।
फल्ने यो मणिकल्प वृक्ष यसमा संसार आफ्नो भनी
हो सौगात सफा अनन्त मनको संस्कार सादा धनी ।।

मर्दै मर्दिन भन्छ प्रेम कविको लाखौं करोडौं जुनी
बालेको मनमा सहर्ष छु सदा यो प्रेम ताजा धुनी ।
यस्तै प्रेम उदारता हृदयको पस्की रहेका मुनी
दिन्छन् सोच विचार उच्च सुकिलो सद्भाव ऊर्जा गुनी ।।

साक्षी ईश्वर छन् सदैव कविका संक्षेपमा भन्दछु
प्रेमी उत्तम चाहनासित सफा आराम झैँ बन्दछु ।
आए हुन्छ रमाउँदै बगलमा राधा र लक्ष्मी बनी
नाता लाउन पर्छ आज कसरी विस्तार होस् त्यो पनि ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।