सरस्वती पूजाको सनातन मान्यता र संस्कृति : घनश्याम कोइराला
कपन अनलाइन
काठमाण्डौ ,माघ १२।
आज माघ शुक्लपञ्चमी हो । आजको दिनलाई श्रीपञ्चमी र वसन्तपञ्चमी भनिन्छ । आजकै दिन वसन्तपुर दरबारमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने परम्परा छ । यो विशेष परम्परा हो । यस दिनसँग जोडिएका अन्य प्रसङ्गहरू भए तापनि सामान्यतः यसदिन सरस्वतीको पूजा गर्ने, शिशुहरूलाई अक्षरारम्भ गराउने विषय व्यापक छ । सरस्वतीलाई शिक्षा, विद्या, ज्ञान, कला, सिपको अधिष्ठात्री मान्नेहरू एवं विद्यार्थीहरू विद्यालयमा र अन्यत्र पनि सरस्वती मन्दिरहरूमा विद्यार्थीहरू सरस्वतीको पूजा गरी आफ्नो उज्यालो भविष्यको कामना गरिरहेका हुन्छन् । सरस्वतीको पूजा गर्नु र सरस्वतीको पूजा या भाँकल गरेर परीक्षामा सफल भइन्छ भन्ने मान्यता सही होइन ।
सनातन संस्कृतिका अनुयायीहरू अनेकौँ देवीदेवताको पूजा गर्दछन् । अहिले हामी ज्ञान, विद्या, कला, सिपकी अधिष्ठात्री देवी सरस्वतीको पूजाको उत्सव–सरस्वती पूजनोत्सव मनाइरहेका छौँ । हुन त पूजा भनेको पूज्यको उच्चतम सम्मान हो । अरु सामग्री र क्रियाकलाप पूजाका बाहिरी रूप पक्ष हो । जीवनमा साह्रै ठूलो गुन लगाएकाहरूलाई पूज्य मानेर सम्मान गर्नु कृतज्ञताको संस्कृति हो । गरेर पनि जस नदिने बैगुनी संस्कृतिको प्रभाव कम गर्ने अर्थमा कृतज्ञता र पूजाको संस्कृतिलाई सकारात्मक रूपमा ग्रहण गर्न सकिन्छ । पूजा, पूजाका लागि नभई कृतज्ञता र सम्मानको लागि हुनुपर्दछ । यद्यपि, यस्तो विषय खास तिथि, मिति वा पर्वमा सीमित विषय नभई सदाकालको विषय हो, तथापि सधै उत्सव सम्भव नहुने भएको हुनाले वर्षमा एक दिन उत्सवमय बनाउनु उचित नै हो ।
यो दिन विद्या, ज्ञान, कला, सिपका लागि सरस्वतीको सम्मान गर्ने दिन हुनुसाथै कठ्याङ्ग्रिँदो शिशिर ऋतुको उत्तरार्ध भएकोले ऋतुराज वसन्तलाई स्वागत गरिने सन्दर्भको यस दिनलाई विभिन्न ढंगले उत्सवमय रूपमा मनाउने प्रचलन छ । सनातन संस्कृतिका हरेक पर्वहरू प्रकृतिसँग सामित्यता राख्दछन् । यस अर्थमा पनि वसन्त पञ्चमी महत्वपूर्ण पर्व हो ।
सनातन मान्यतामा शिक्षा, विद्या, ज्ञानको माध्यम अक्षरलाई मानिन्छ । आमरूपमा अक्षर भन्नाले स्वर–व्यञ्जन ‘वर्ण’ बुझिन्छ, तर अक्षर भनेको ध्वनीको आकृति वा आकार हो । यस अर्थमा शिक्षा, विद्या शब्द मात्र होइन; शिल्प(सिप) पनि हो भन्ने स्पष्ट हुन्छ । यसरी सरस्वतीको कार्यक्षेत्र शिक्षा र सिप दुवै हो र यी दुवै क्षेत्र श्रमविना प्राप्य छैन । ‘श्री’ भनेको ऐश्वर्य, वैभव, समृद्धि हो । ऐश्वर्य, वैभव, समृद्धि प्राप्त गर्न ज्ञान, सिप, श्रम आवश्यक पर्दछ । अतः सरस्वती पूजाको सम्बन्ध शिक्षा, विद्या, ज्ञान, कला, सिप र श्रमसँग छ । मानव जीवनका सुखको आधार पनि यिनै हुन् ।
तर, अहिलेका प्रायः पूजाहरू स्वार्थको अभिव्यक्ति, पाखण्ड र अन्धविश्वासका माध्यम बनेका छन् । पाखण्ड र अन्धविश्वास जतिसुकै राम्रो आवरणमा भए पनि त्याज्य नै हुन्छ । जानेर, बुझेर, अड्कलेर, परिणामको ख्याल गरेर गरिने पूजाले संस्कृतिको विकासमा सहयोग पु¥याउँछ भने नबुझी, देखासिकी र आडम्बरका लागि गरिने पूजाले अन्धविश्वासलाई मलजल गर्दछ । हामीले विद्यालयमा पढ्दा श्रीपञ्चमीको दिन विद्यालयमा सरस्वतीको पूजा गरिन्थ्यो । हामी लाम लागेर सरस्वतीको फोटोमा घरबाट लिएर गएको पूmल, अविर, फल चढाएर ढोग्थ्यौँ । विद्यालयबाट व्यवस्था गरिएको एक चम्चा बुँदी (बुनियाँ) खान्थ्यौँ र मुख गुलियो पाथ्र्यौँ । मनमनै सरस्वती माता ‘मलाई पास गराइदिनुहोस् !’ भन्थ्यौँ र पास हुने बरदान माग्थ्यौँ । माथिल्लो कक्षाका राम्रो स्वर भएका केही दिदी–दाइहरूले सरस्वतीको स्तुति भन्दथे र हामी दुवै हात जोडेर, आँखा चिम्लेर पछिपछि भन्थ्यौँ । स्तुति–सरस्वती वन्दना राम्रो लाग्थ्यो, तर अर्थ जानिँदैन थियो, अर्थ लगाइदिने चलन पनि थिएन ।
सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी । हंसवाहन संयुक्ता विद्यादानं करोतु मे । यसको भावार्थ हो, हातमा वीणा र पुस्तक लिएकी, वाहनको रूपमा रहेको हाँससँगै रहेकी, जुन सरस्वती देवीलाई म देखिरहेको छु, उनले मलाई विद्या दिऊन् । यसमा उल्लेख गरिएका पुस्तक, वीणा, हाँस अर्थपूर्ण छ । पुस्तकले ज्ञान, वीणाले जीवन र हाँसले उचित–अनुचित छुट्याउने विषयको संकेत गरेका छन् । विद्यावान्(विद्वान्) जीवन र जगत बुझेको हुनुपर्छ र असल गलत छुट्याउन सक्ने हुनुपर्छ भन्ने तात्पर्य स्पष्ट छ । सरस्वती पूजाको एउटा सार पक्ष यो हो ।
अर्को पक्ष छ, सरस्वतीका १२ नामहरू । यी १२ नामहरू सरस्वतीका सामथ्र्य हुन् । यी सामथ्र्यका लागि नै पढ्नु, लेख्नु, सिक्नु, जान्नु आवश्यक छ । सरस्वती वन्दना, जसमा सरस्वतीका १२ नाम यस प्रकार रहेको छ:
प्रथमं भारती नाम द्वितीयन्च सरस्वती । तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी ।।
पञ्चमं तु जगन्माता षष्ठं बागीश्वरी तथा । सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।।
नवमं सिद्धिदात्री च दशमं ब्रह्मचारिणी । एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः । जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।
अर्थः पहिलो नाम भारती हो । दोस्रो नाम सरस्वती हो । तेस्रो शारदादेवी र चौथो हंसवाहिनी हो । पाँचौँ जगन्माता हो र छैठौँ बागीश्वरी हो । सातौँ कौमारी र आठौँ वरदायिनी हो । नवौँ नाम सिद्धिदात्री र दसौँ ब्रह्मचारिणी हो । एघारौँ नाम चन्द्रघण्टा र बाह्रौँ नाम भुवनेश्वरी हो । जसले यी १२ नाम दिनमा तीनपटक सम्झना गर्दछ, उसको जिब्रोको टुप्पोमा ब्रह्मरूपा सरस्वती बस्दछिन् ।
कति राम्रो भाव ! कति अर्थपूर्ण स्तुति !! तर, ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बीँड’ भनेजस्तो । अहिले पनि सरस्वती पूजाको यो दिन आउँछ, पूजा हुन्छ । टीका चन्दन लगाइन्छ, फल प्रसाद बाँडिन्छ, न अर्थ, न भाव ! अझ विद्यालय शिक्षाभन्दा माथि उठेपछि त यसैलाई अन्धविश्वास, रूढीवाद भनेर उल्याउन थालेको देखिन्छ । हुन पनि हो, यसरी अर्थविना जपिने नामले, गरिने पूजाले परम्परा मात्र वहन गरेको छ र अन्धविश्वास बढाउन मद्दत गरिरहेको छ ।
यसरी मन्त्र भन्दै सरस्वतीको स्तुति गरिरहेको देखिन्छ, तर, यसको अर्थ खोतल्यौँ भने यी सामथ्र्यका रूपमा देखिन्छन् । यस मन्त्रको माध्यमबाट विद्या प्राप्त गरेको व्यक्तिमा विकास हुने÷हुनुपर्ने विशिष्ट क्षमताको अपेक्षा गरिएको स्पष्ट हुन्छ ।
पहिलो नाम ‘भारती’ को अर्थ भा (आभा÷उज्ज्वलता) रती (रमाउने÷रूचाउने वा पक्षपोषण गर्ने) भारती अर्थात् सबै प्रकारका अन्धकारमुक्त समाज निर्माण गर्न उन्मुख हुनु यस नामको प्रेरणा हो । दोस्रो नाम ‘सरस्वती’ सरस्+वती अर्थात् रसयुक्त भएकी भन्ने अर्थ लाग्दछ । रस भनेको कुनै पनि विषयको सार हो । सरस्वती शब्दको यस नामले विद्यावानहरूलाई सारयुक्त हुन, खोक्राइँको अवगुणबाट मुक्त हुन प्रेरणा दिन्छ । पढेलेखेका मानिसहरू सार ग्रहण गर्न र सार सम्प्रेषण गर्ने क्षमताको हुनुपर्ने अपेक्षा यस नाम–शब्दले वहन गरेको छ ।
सरस्वतीको तेस्रो नाम शारदादेवी हो । यसको अर्थ हो शरद ऋतुको जस्तो विशेषता भएको, निर्मल भनिएको हो । जहाँ धुलोमैलो हुँदैन । जे हुन्छ स्वच्छ, हुन्छ । विद्याबाट मानिसमा यस्तो गुणको अपेक्षा गरिएको हुन्छ । त्यसैले विद्वान्हरू तन र मन दुवैमा सफासुग्घर हुनुपर्दछ भन्ने आसय रहेको देखिन्छ । सरस्वतीको चौथो नाम हंसवाहिनी हो । हंसवाहिनी शब्दको अर्थ त हाँसको सबारी गर्ने भनेको हो । तर यसको तात्पर्य हाँस भनेको पानीमा रहेर पनि पानीबाट नभिझ्ने, राम्रो–नराम्रो, उपयोगी–अनुपयोगी पर्गेल्न सक्ने क्षमतायुक्त हुनु हो । हंस शब्दको अर्थ कसै कसैले प्राण भन्ने पनि लगाउने गरेका छन् । यसरी हेर्दा विद्या प्राणवाहिनी भएको स्पष्ट हुन आउँछ ।
सरस्वतीको पाँचौँ नाम जगन्माता हो । जगत्+माता=जगन्माता । जगन्माताको अर्थ संसारकी आमा हो । आमा भनेको सिर्जनाको मुहान हुन् । यसको तात्पर्य के हो भने विद्वानमा सिर्जनशील क्षमता हुनुपर्दछ । आमाले नै सिर्जना र पालनपोषण गर्न सक्ने क्षमता राख्ने कुरा कुनै नौलो विषय होइन । यसरी सिर्जना र पोषणमा विद्याको महत्व दर्शाइएको छ । विद्वानहरूले नयाँ विषय सिर्जना गर्न र त्यसलाई हुर्काउन सक्दछन् भन्ने आसय स्पष्ट छ । सरस्वतीको छैठौँ नाम वागीश्वरी हो । वाक् (वाणी)+ईश्वरी (स्वामिनी)=वाणीकी स्वामिनी, वाणीलाई पूर्णतया नियन्त्रणमा राख्न सक्ने क्षमता हुनुलाई वागीश्वरी भनिएको हो । सरस्वतीका उपासकहरू जे पायो त्यो बोल्दैनन् । भनिन्छ नि ‘शब्दहरू निःशुल्क वा विनामूल्य पाइन्छ, तर यसको प्रयोग भने निकै महँगो हुन्छ ।’ पढेलेखेका विद्वानहरूको वाणी नियन्त्रित हुनुपर्दछ ।
सरस्वतीको सातौँ नाम हो–कौमारी । यसको तात्पर्य पवित्रता, निष्कलङ्क हुनु हो । सरस्वतीलाई सरस्वतीको उपासना गर्नु, पूजा गर्नु वा पढाइबाट पाइने क्षमतामध्येको महत्वपूर्ण क्षमता निष्कलङ्क, पवित्र भइरहन सक्नु हो । विद्वान्हरू दागी हुनुहुँदैन भन्ने आशय हो । सरस्वतीको आठौँ नाम वरदायिनी हो । वरदायिनी भनेको अरुलाई दिनसक्ने हुनु हो । अरुलाई पनि आफूसरहको क्षमतावान् बनाउन सक्नु हो । सरस्वतीको नवौँ नाम सिद्धिदात्री हो । आँटेको, चाहेको काममा सफलता प्राप्त गर्नु र अरुलाई पनि सिद्ध गर्न सक्ने बनाउनु हो ।
सरस्वतीको दसौँ नाम ब्रह्मचारिणी हो । ब्रह्ममा विचरण गर्ने शक्ति भएकी भन्ने अर्थ हो । विद्वान्हरू शब्द तथा चिन्तनको माध्यमबाट सबैतिर पुग्न सक्ने हुन्छन् । पढेलेखेका मानिसहरूको चिन्तन एवं उनीहरूले प्रयोग गर्ने शब्दको प्रभाव उच्चकोटिको हुन्छ । चन्द्रघण्टा सरस्वतीको एघारौँ नाम हो । चन्द्र उज्यालो र शितलताको प्रतिक हो भने घण्टा गतिशीलता र समयको प्रतीक हो । यस शब्दले उज्यालो गरी, स्वच्छ जीवनशैली अपनाउँदै, समयको महत्वलाई बुझेर निरन्तर गतिशील हुने अर्थ राख्दछ ।
सरस्वतीलाई मान्नु भनेको स्वच्छता, समय र समयको गतिशीलतालाई बुझ्नु भनिएको हो । सरस्वतीको बाह्रौँ नाम भुवनेश्वरी हो । भुवन (जगत्, संसार) + ईश्वरी (सर्वोपरी, सबैभन्दा ठूलो शक्ति) = भुवनेश्वरी, संसारको सबैभन्दा ठूलो शक्ति विद्या हो । विद्या भनेको शिक्षा हो, ज्ञानको माध्यम र स्रोत पनि विद्या नै हो । यो विश्वव्यापी विषय हो । यिनै अर्थमा सरस्वतीलाई भुवनेश्वरी भनिएको हो । स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते अर्थात् राजा आफ्नो देशमा मात्र मानिने हुन्छ, विद्वान् सर्वत्र पूजिन्छ । देशको भौगोलिक सीमाना हुन्छ, तर विद्वत्ताको भौगोलिक सीमाना हुँदैन । सरस्वतीका नाम भन्नु नै सरस्वतीका सामथ्र्य हुन् र सरस्वतीको पूजा गर्नु भनेको विद्या–शिक्षाको माध्यमबाट यिनै सामथ्र्यहरू आर्जन गर्ने प्रतिबद्धता हो । सरस्वतीका १२ नामको सधैँ स्मरण गर्नु, सम्झनु या जप्नु भनेको माथि उल्लेख गरिएका सामथ्र्यहरू कहिल्यै नर्बिसौँ भनिएको हो ।
उज्यालोको पक्षपाती हुनु, रसिलो हुनु, सफा–स्वच्छ हुनु, गुण र दोष छुट्ट्याउन सक्ने हुनु, सिर्जनशील हुनु, बोलीमा नियन्त्रण गर्नु, शुद्ध र निर्मल हुनु, अरुका काममा सहयोगी हुनु, सफलताको बाटोमा अघि बढिरहनु, जगतका बारेमा सोचविचार गर्नु, समयको स्वर बुझ्नु, संसार आफ्नै हो भन्ने सोच्नु र यी सबै अनुसार व्यवहार गर्नसक्ने हुनु, बन्नु, बनाउनु सरस्वतीका उपासकहरूको कर्तव्य हो । यिनै क्षमताहरूको समष्टिलाई सरस्वतीका १२ नाम दिइएको हो । सरस्वतीको पूजा गर्नु कुनै धार्मिक कृत्य मात्र होइन, सामथ्र्यको कामना र सम्मान हो । यो स्तुति वा प्रार्थना, ध्यान यी सामथ्र्यको खोजी हो ।
सरस्वती पूजा सनातन मान्यता र संस्कृति हो । सनातन संस्कृतिको आधार वेद हो । वेदमा सरस्वतीका विषयमा लेखिएका यी सन्दर्भहरूले अन्य पक्षहरू उजागर गर्दछन् ः
पावका नः सरस्वती वाजेभिर्वाजिनीवती । यज्ञं वष्टु धियावसुः । सरस्वतीले पवित्र बनाउँछिन्, पोषण दिन्छिन् र उनी बुद्धिमत्तापूर्वक ऐश्वर्यदान गर्छिन् । उनै देवी सरस्वतीले ज्ञान र कर्मद्वारा हाम्रो यज्ञ सफल गराइदिऊन् । चोदयित्री सूनृतानां चेतन्ती सुमतीनाम् । यज्ञं दधे सरस्वती अर्थात् सत्य र प्रिय वचन बोल्न सिकाउने र मेधावीहरूलाई यज्ञका लागि प्रेरणा दिने सरस्वती देवीले हाम्रो यो यज्ञ स्वीकार गरून् र हामीलाई खोजेको जस्तै वैभव दिऊन् । सरस्वती नः सुभगा मयस्करत् अर्थात् सौभाग्यशालिनी सरस्वतीले हामीलाई सुख दिऊन् । यज्ञ भनेको स्वहा, स्वधा भनेर गरिने हवनादि कार्य मात्र होइन । यज्ञ शब्दले उद्यम र युद्ध अर्थ वहन गर्दछ । सन्दर्भअनुसार युद्धलाई सङ्घर्ष पनि भनिन्छ–सशस्त्र सङ्घर्ष, वर्गसङ्घर्ष, सामाजिक सङ्घर्ष आदि ।
यसरी बुझ्न सक्दा मात्र सरस्वती, सरस्वती पूजाको अन्तर्वस्तु ठम्याउन सकिन्छ । कुनै पनि शब्दको अर्थ सधैभरि एउटै लाग्दैन ।
सबैतिर परिवर्तन–रूपान्तरणको कामना गर्नेहरूले सरस्वती पूजाको सन्दर्भलाई पनि समयसापेक्ष रूपमा बुझ्न, विश्लेषण गर्न र तदनुसार अवलम्बन गर्न आवश्यक छ । युग बदलिँदो छ । पुराना केही छुट्दैछन्, केही नयाँमा रूपान्तरित हुँदैछन् । मानिसहरूमा केही सत्यबोध छ, केही भ्रम छ । सत्यबोध हुनु राम्रो हो । भ्रमलाई राम्रो मान्न सकिँदैन । त्यो भ्रम के हो भने ‘पुरानाजति सबै अगतिला र नयाँजति सबै गतिला ।’ यो भ्रमको मात्रा धेरथोर सबैमा भए पनि पढे–लेखेका, आधुनिक, सामाजिक अगुवाहरूमा बढी नै रहेको पाइन्छ । यो वर्ग भ्रममुक्त भएर अघि बढ्न सक्दा मात्र संस्कृति रूपान्तरणको गति साँच्चिकै गतिलो (गतिशील) हुन सक्नेछ ।
सकारात्मक दिशातर्फको गतिशील यात्राको लागि हामी शिक्षालाई उच्च महत्व दिइरहेका छौँ । शिक्षालाई ज्ञान, सिप र क्षमताको माध्यम मान्दै आइरहेका छौँ । सरस्वती पूजाको अन्तर्वस्तु अन्धविश्वास होइन, बुझाइ विज्ञानसम्मत बनाउन सिकौँ ।