सेकेण्ड ह्याण्ड केटो : देवराज पौडेल (लघुकथा )

सेकेण्ड ह्याण्ड केटो : देवराज पौडेल (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,पुस २३।

तीन महिना देखि कक्षामाशिवानीलाई नदेखेपछि आज मैले उनकी मिल्ने साथीलाई सोधेँ, ‘सिवानी पढ्न आउँदिन?’
‘आउँदिन सर’ ! उसले जवाफ दिई ।
‘किन?’ मैले जिज्ञासा राखेँ ।
‘सर, उ त भारी जिउकीभई ।’
उनको जवाफले म स्तब्ध भएँ । आजमलाई निन्द्रालागेन । हाम्रो शिक्षाले छात्रछात्राहरूलाई सचेत गराउन नसकेकोमा मनमा बेचैनी बढिरहेको छ । जब बिहेका लगनहरू आउँछन् तब मेरा नौ दस कक्षा पढने छात्राहरू पराई घर गएको टुलुटुलु हेरेर बस्न बाध्य हुन्छु । चौधपन्ध्र बर्ष नपुग्दै नाबालक चेलीहरू कसैकी श्रीमती, कसैकीबुहारी बनिरहेका छन् । बिहेकै कारण उनीहरू प्रवेशिका परीक्षा पास गर्न नपाउँदै पढाइ बिट मार्न विवस छन् । बालबिबाह गराएको भनेर समाज र अभिभावकलाई सम्झाउँदा म एक्लो बृहस्पति भएको छु ।
सिवानी जेहन्दार छात्रा थिइन् । उनको बिहेको कुरा गाइँगुइँ
सुनेर तीनमहिना अगाडि उनलाई मैल भेटेर सोधेको थिएँ, ‘तिम्रो बिहे हुँदैछ रे हो ?’ उनले लजाउँदै अँधेरो अनुहार पारेर स्वीकृतीको मुन्टो हल्लाएकी थिइन् । हाम्रो सम्वादको अन्त्यमा मेरा आँखाका ढिलहरू भरिएका थिए ।
‘तिम्रो त बिहे गर्ने उमेरै पुगेको छैन ।’ ‘माई (आमा) बावुले बिहेको निधो गरिदिनु भयो, सर !’
– केटा के गर्छ ?
– केहीगर्दैन ।
– कति पढेको छ ?
– सातकक्षा पढेर छाडेको छ रे ।
– तिमी नौ कक्षा पढ्दैछौ, त्यस्तो सात कक्षा पढेको केटासँग किन बिहे गर्न लागेकी त ? – दाईजो कमदिनु पर्छ भनेर ।
– किन र ?
– त्यसको पहिले अरु नै केटीसँग बिहे भएको थियो ।
– सौतामाथि बिहे गर्न आँटेकी?
– हैन ! सौतालाई उनकामाई बाबुले छिनेर (खोसेर) लगिसकेका छन् रे ।
– फेरि त्यही केटीलाई तिम्रो बुढाले ल्यायो भने ?
– त्यस केटीलाई उनका माई बावुले इन्डिया लगेर अरु नै केटासँग सादी (बिहे) गरिदिएका छन् रे ।
– अनित्यस्तो केटासँगतिमीले किन बिहे गर्न मानेकी त ?
– मेरा माई बावुसँग पैसा छैन । उहाँहरूको समस्या मैले नबुझिदिए कसले बुझिदिने ?मलाई पनि फस्ट हेण्ड केटासँग बिहे गर्न मन थियो नि तर के गर्नु फस्ट हेण्ड केटासँग बिहे गर्दा नौ दस लाख रुपैयाँ माग्छन् । यो केटा सेकेण्ड हेण्ड भएर चार लाख मै मान्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।