गोकर्णेश्वर महादेव मन्दिरमा धनुर्मास पूजा  सम्पन्न

गोकर्णेश्वर महादेव मन्दिरमा धनुर्मास पूजा  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १३ ।गोकर्णेश्वर महादेव मन्दिरमा धनुर्मास पूजा  सम्पन्न भएको छ । प्रत्येक वर्ष सूर्य धनु राशिमा रहेका बेला शुभसाइत जुराएर  गरिने उक्त पुजा आज सम्पन्न भएको हो ।विधिपूर्वक धनुर्मास पूजा गरेपछि दिनभर मन्दिर बन्द गर्ने प्राचीनकालदेखिको धार्मिक नियम रहेको  छ । यो पूजापछि भगवान् शिव पनि घाम ताप्न शिवपुरी डाँडामा जाने भएकाले मन्दिर बन्द गर्ने गरेको धार्मिक विश्वास रहिआएको छ ।

गोकर्णेश्वर महादेवलाई आदिकलश, पुर्णकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, शृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने गरिन्छ।महाभोगका लागि ब्राह्मणले दुईवटा तामाका खँड्कुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनी सहितको खिचडी बनाउने गरिन्छ । धनुर्मास पूजामा गुलियो र चिल्लो सामग्री चढाउने धार्मिक विधि रहेको छ ।चन्द्रमास र सौर्यमास दुवै पात्रो अनुसार पुस महिना पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा ९ पटकसम्म धनुर्मास पूजा गर्ने गरिएता पनि त्यो परम्परा भने अहिले लोप भइसकेको छ ।

त्यसबेला भक्तजनहरुले पनि आफ्नो खर्चमा धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि बुधबार बिहान गोकर्णेश्वर महादेवलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।बाला चतुर्दशीदेखि नै महादेवलाई चिसो लाग्ने धार्मिक विश्वाससहित तातोपानीले स्नान गराउने परम्परा बसेको हो । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा महादेवलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।धनुर्मास पूजा पछि बन्द हुने मन्दिर सर्वसाधारणको दर्शनको लागि भने साँझको आरती र नित्य पूजा सकिएसँगै खुल्ला गरिन्छ ।

 

तपाइँको प्रतिक्रिया ।