प्रधानमन्त्री देउवाले गरे सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण
कपन अनलाइन
काठमाडौं,पौष ४ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुन्दरीजलको मेलम्ची सुरुङ नजिक निर्माण गरिएको नेपालका पूर्व प्रधानमन्त्री तथा कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गरेका छन् ।आइतवार प्रधानमनत्री देउवाले मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने योजनाका परिकल्पनाकार भट्टराईको शालिक अनावरण गरेका हुन् ।
सुन्दरीजल पानी प्रसोधन केन्द्र परिसरमा खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतको उपस्थितीमा देउवाले भट्टराईको शालिकमा फूल तथा माला पनि अर्पण गरेका थिए । उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईको काठमाडौं उपत्यकाबासीलाई (मेलम्चीको) पानी खुवाउने सपना पूरा भएको बताएका छन्।प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यका भित्र स्थायी र अस्थायी रुपमा बसोबास गर्ने उपत्याकाबासीलाई विभिन्न आरोह अबरोहबीच खानेपानीको वितरण भइरहेको बताए।
‘आजको दिन मेलम्ची खानेपानी काठमाडौं ल्याउन सुरुवात गर्ने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झन चाहान्छु। काठमाडौंमा खानेपानी खुवाउने उहाँको सपना पूरा भएको छ,’ देउवाले भने, ‘सुन्दरीजलमा कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण गर्न पाउँदा मलाई खुसी लागेको छ।’भट्टराईले २०४८ सालको निर्वाचनको क्रममा भनेको कुरा हाल पूरा भएको देउवाले दाबी गरे। कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामहरी खतिवडा, सन्तोष चालिसे, मोहन बस्नेत , प्रदेश सभा सदस्य बिमल ठकुरी, गोकर्णेश्वर नगरपालिका प्रमुख दिअप कुमार रिसाल बिपी संग्राहलय समितिका अध्यक्ष एबम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि परशुराम पोखरेल लगायत स्थानीयको उपस्थिति रहेको थियो ।