नगरपालिका घेराउ गर्ने जोरधारा पिडितको चेतावनी,नगर प्रमुख भन्छन, “पानी पनि खुवाउन नसक्ने के को जनप्रतिनिधि?”

नगरपालिका घेराउ गर्ने जोरधारा पिडितको चेतावनी,नगर प्रमुख भन्छन, “पानी पनि खुवाउन नसक्ने के को जनप्रतिनिधि?”

कपन अनलाइन

काठमाण्डौ ,पुस २।

कपन जोरधारा खानेपानी संरक्षण संस्थाको खानेपानी सेवा बन्द भएपछि पिडित बनेका उपभोक्ताहरुले एक हप्ता भित्र समस्याको समाधान नभएमा बुढानिलकण्ठ नगरपालिका घेराउ गर्ने चेतावनी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको कपन जोरधारा खानेपानी संरक्षण संस्थामा देखिएको समस्या समाधानका लागि भएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पोइन्ट प्रतिनिधिहरुले नगरपालिका घेराउ गर्ने चेतावनी दिएका हुन।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी,वडा नं १० का अध्यक्ष नवराज भट्टराई,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बिनोद चालिसे,संस्थाका पुर्व अध्यक्ष धुर्वराज न्यौपाने सहित विभिन्न पोइन्ट प्रतिनिधिहरुको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ठाकुर प्रसाद खकुरेलले संस्थाले भोगेको समस्या र प्रयासहरुका वारेमा जानकारी दिएका थिए।

साउन अन्तिम सातामा बोरिङ बन्द भएपछि अत्यावस्यक खानेपानीको सेवा बन्द भएपछि पिडित भएका उपभोक्तहरुको गुनासो र प्रश्नको संबोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले खानेपानीको समस्या समाधान गर्न नगरपालिका तयार र तत्पर रहेको बताएका थिए।

” जनतालाई पानी पनि खुवाउन नसक्ने के को जनप्रतिनिधि?” भन्ने प्रश्न गर्दै प्रमुख अधिकारीले तत्काल खानेपानीको सेवा सुचारु गर्न सबै किसिमका सहयोग गर्न नगरपालिकाले पहल गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।

कपन जोरधारा खानेपानी संरक्षण संस्थामा देखिएको समस्याको तत्कालिन र दीर्घकालीन समाधानका लागि सहयोग गर्न  विशेष संयन्त्र गठनको प्रस्ताव गर्दै नगर प्रमुख अधिकारीले तत्काल प्रक्रिया सुरु गर्न संस्थालाई निर्देशन समेत दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बिनोद चालिसेले खानेपानी जस्तो संवेदनशील विषय रहेकोले सबैले सहयोग गर्नुपर्ने भन्दै संघीय सरकार र प्रदेस सरकारहरुबाट आएको बजेटलाई पनि सदुपयोग गर्ने तर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए।

त्यस्तै अन्तरक्रियामा बोल्दै संस्थाका पुर्व अध्यक्ष तथा नेकपा एसका क्षेत्रीय अध्यक्ष धुर्वराज न्यौपाने कपन क्षेत्रका हजारौ जनताले उपभोग गरिरहेको खानेपानी सेवा तत्काल सुचारु गर्नका लागि नगरपालिकाले प्रभावकारी पहल गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा भएको सो अन्तरक्रिया कार्यक्रम तत्काल कपन जोरधाराको खानेपानी सेवा तत्काल सुचारु गर्न तीव्र गतिमा काम सुरु गर्ने निस्कर्ष सहित टुंगिएको थियो।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।