चुनावी दाग : लक्ष्मी प्रसाद पौडेल (लघुकथा )

चुनावी दाग : लक्ष्मी प्रसाद पौडेल (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

‘हुन्छ, हुँदैन’भन्ने हल्ला र आशंकालाई हराउँदै चुनावले जितेरै छाड्यो । हुनु थियो, भयो । धेरै हल्लाकार छुटे ।थोरै हल्लाखोर समेटिए । कतिपयलाई पराजयपछि बेइमानी र धाँधलीको ब्रम्हज्ञान भयो । कतिलाई नजित्दै सरकारी निम्तो आयो ।
ऊ भने एक एकनतिजामाऔलाभाँचेर बस्थ्यो । प्रत्येक एक अंक थपिंदा मष्तिष्कमा एउटा हेडलाइन तयार पार्थ्यो ।’ आफूलाई चार आनाको पुर्जा ÷ स्वास्नीलाई इटाभट्टामा जागिर / छोरालाई सरकारी स्कुलको किताब, झोला, दिवाखाजा ।’ घोषणाका पानाहरू ओल्टाईपल्टाई गर्थ्यो । ‘यो गर्छु र ऊ गर्छु’ छापिएका कालाअक्षरमा रातो चिन्हल गाउँथ्यो ।कहिले आशंका र व्याकुलताले रात मात्र होइन दिनपनि अँध्यारो बनाउँथ्यो । कहिले कसैको हारमा रमाउथ्यो । कहिले आफैंले जिते जस्तो
गरी उफ्रन्थ्यो ।
मंसिरको सम्साँझै कुइरो उदाएको दिन । सूर्य बिस्तारै भोलिको उज्यालो बाटो तय गर्न ढल्किदै गरेको अवस्थामा थियो । एउटा दाह्रा किटेको चार पाङ्ग्रा झुन्ड्याएको र अर्को दुई पाङ्ग्राले उभ्याएको वस्तु उसको अगाडि देखापर्यो  । हेर्दाहेर्दैउसको आँखै अगाडि उसको ओत लाग्ने आकाश बर्ल्याङबुर्लुङ झर्यो । स्वास्नी केटाकेटी ’ लौ न नि !’ भन्दै दगुरादगुर गरे । विजयी जुलुसमा पहिरिएको रातो टिका दिमागको गर्मीले तातेर नाकको पोरा हुँदै उसको मुखसम्म आइपुग्यो । उसलाई निकै स्वादिलो लाग्ने रातो रंग अहिले टर्रो न टर्रो लाग्नथाल्यो । उसको नेताजितको खुशीयालीमा चारतारे रङ्गमञ्च रङ्गयाउँदै थियो ।
‘थुईक्क’गर्दै आफैं भरी थुक्यो । आफ्नै हातले आफ्नै घर र भविष्यजलाउन लाहाछाप लगाएको ऊ थकित मन र विक्षिप्त शरीर लिएर अर्को बस्ती भेट्न नदीकिनार ओर्लियो । दक्षिण ताकेर दौडिएको नदीचिसो४४४ बोकेर उसलाई पर्खिरहेको थियो । देब्रे हातको बूढी औँलामा लागेको चुनावीदागले उसलाई पाँचवर्षपछि धकेलेको थियो र भन्दै थियो, ‘त पनि लेफ्ट हेण्डेड होइनस् र ?’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।