अफवाह : लक्ष्मण अर्याल (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २४।
‘यो मान्छे देउताहो देउता ।’ – एउटा अफवाहले कुराको बिउ छर्यो । छरिएको बिउ सबैतिर उम्रियो । समाजको पाटाभरि देउतै देउता फुल्यो। यता पनि देउता उता पनि देउता, देउतै देउताको माला उन्यो समाजले । यसरी अचानक देउता फुलेको देखेर समाज हर्षविभोर बन्यो । समाजले सोच्यो – ‘देउतै फुलेपछि अब हामी उभिएको यो धर्ती स्वर्ग बन्न कत्ति बेर लाग्दैन ।’
अर्कोदिनअर्को अफवाहले कुरा उछाल्यो – ‘दारी फुलेका, जुँगाफुलेका, कपाल पनि हिमाल बनेका, घुँडाको रोगले च्यापेका, उमेर पचाएका सबै सबै यामानको दारा निस्केका राक्षस हुन्, अझ यतिमात्र होइन दीतिका
सन्तान दैँत्य नै हुन् । समाज फेरी जुर्मुरायो । एक स्वरमा भन्यो – ‘हो, हो, हो राक्षस नै हुन्, दैँत्य नै हुन् ।’
एक हप्ता यसैगरी बित्यो । हप्ता दिनपछि तेस्रो अफवाहले मुख खोल्यो – ‘उमेर खाएका देउताहुन् रे, बरु ठिटाहरू पो राक्षस रहेछन् । पाताल लोकका पातालेहरूका डाम्ना पो रहेछन् ती त ।
होसियार ! होसियार !!’
अर्को एक हप्तापछि नयाँ उधुम भयो । काग करायो ।काग कराएको मात्रहो केही भएको थिएन । हत्त न पत्तचौथो अफवाह घाँटीको नसा चुँड्ला जसरी चिच्यायो – ‘कानलग्यो, कानलग्यो, ए साथीहो कानलग्यो !’ सबै रोए, समाजै रोयो । भने – ‘कानलग्यो, लौ न कानलग्यो, हामी बुच्चा भयौँ ।’ सबै रुँदै रुँदै कागको पछि पछि दौडे – कागको चुच्चोबाट थुतेर चुँडिएको आआफ्नो कान जोड्न ।
चारै जनाअफवाहहरू जोडजोडले हाँसिरहेका थिए । उनीहरू पो के कम थे र ?मौका खोजे राजनीति गरे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक