छाला दान गर्न प्रेरित गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ इ
कपन अनलाइन
काठमाडौँ, असोज ३ । संबिधान दिवसको अवसर पारेर आज मानवीय र सामाजिक सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ई ले मरणोपरान्त शरिरको छाला दान गरौं भन्ने संदेश सहितको बृहत र्यालीको आयोजना गरेको छ । बिहान भृकुटीमण्डप बाट शुरु भएको उक्त र्याली बसन्तपुर सम्म पुगेको थियो । उक्त र्यालीमा Nepal Burn Foundation, Lions Skin Bank तथा अन्य विभिन्न संघ-संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि लायन्स क्लब डिस्ट्रिक ३२५ ई अन्तर्गतका बिभिन्न क्लबले छाला दान गरौ भन्ने बिभिन्न संदेशमुलक ब्यानर, प्ले कार्ड बोकेका थिए ।
कुनै मानिसको शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको छ भने त्यसलाई ‘एक्स्टेन्सिभ बर्न’ भनिन्छ । त्यस्ता मानिसलाई जलेको भागमा नजलेको भागको छाला प्रत्यारोपण गरेर बचाउन सकिन्छ । शरीरको ३० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा सद्दे छाला प्रत्यारोपण आवश्यक पर्छ ।३०-४० प्रतिशत भाग जलेको मानिसको आफ्नै शरीरबाट सद्दे छाला निकाल्न सक्ने अवस्था छैन भने अरुको छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसको लागि छाला दान गर्ने चलन छ । १८ देखि ६५ वर्षसम्मका मानिसका छाला जलेको अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ ।
मानिसहरुले मृत्यअघि आँखा दान, शरीर दान गरेजस्तै छाला दान गरेका हुन्छन् । नेपालमा छाला दानबारे कम जानकारी भएकाले हुनसक्छ छाला दान गर्ने मानिस कमै देखिएका छन् । सोहि कारण लायन्स क्लबले छाला दानको लागि आहृवान गरिरहेको छ । आगोबाट जलेकाहरूको उपचारमा छाला आवश्यक पर्दछ । तर, नेपालमा छाला दान गर्नेहरूको संख्या कम हुँदा महँगोमा भारतबाट छाला भित्र्याउने गरिएको छ । शरीर आगोले जलेमा स्वास्थ्य मन्त्रालयबाट सिफारिस लिएर छाला किन्न भारतको मुम्बई पुग्नुपर्ने बाध्यता रहेको छ ।
समयमा छाला नपाउँदा इन्फेक्सन भएर कतिपय बिरामीको मृत्युसम्म हुने गरेको छ, । ‘भारत पुगेर छाला ल्याउँदा डेढदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ । छाला किन्न मुम्बईसम्म जाँदा–आउँदा बिरामीका आफन्तले अनावश्यक खर्च गर्नु परिरहेको छ ।त्यसैलाइ मध्य नजर गर्दै लायन्स क्लबले काठमाडौंको कीर्तिपुरमा ‘लायन्स स्किन बैंक’ खोल्नुको साथै मरणोपरान्त शरिरको छाला दान गर्न मानिसहरुलाई प्रेरित गर्दै आएको छ ।र्यालीमा लायन्स लिडरहरुको समेत सहभागिता रहेको थियो ।