गोकर्णेश्वर ८ ले अव्यवस्थित तारहरु हटाउने अभियान शुरु गर्यो
कपन अनलाइन
काठमाडौं, भाद्र ३२ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले अव्यवस्थित भएको तारहरु हटाउने अभियान शुरु गरेको छ । जताततै लत्रिएको तारका कारण नगरलाइ कुरुप बनाएको र दुर्घटना र आगलागीका घटना पनि बढाएकाले अव्यवस्थित तारलाई हटाउन लागेको वडा अध्यक्ष नन्दलाल श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।
बिजुलीका पोलमा टेलिफोन, इन्टरनेट र बिजुलीका तारको भार छ। एकै ठाउँमा टाँगिदा सबै खाले तार बटारिएका छन्। कयौं बिजुलीका पोल पुराना भइसकेका छन्। अव्यवस्थित रूपमा यत्रतत्र झुन्डिएका तारले नगरलाइ कुरूप बनाएको र ती गुजुल्टिएका तारका कारण कतिबेला दुर्घटना निम्तिने हो कुनै ठेगान छैन। नगरलाइ यो हविगतले जति कुरूप बनाएको छ, त्यति जोखिम पनि निम्त्याएको हुँदा यो अभियान शुरु गरेको उनले प्रष्ट पारे ।
उनले तत्कालको लागि सडकमा लत्रिएका तारलाई काटिदिएको र झोल्लिएका तारलाई मुठा बनाएर राखीदिएको पनि बताए । तार व्यवस्थित गर्नको लागि सम्बन्धित निकायलाइ समय सिमा तोकेर जानकारी गराइएको र उक्त अवधीमा पनि तार व्यवस्थित नगरेमा पुनः वडाले तार काट्ने पनि अध्यक्ष श्रेष्ठले जानकारी गराए । वडा अध्यक्ष नन्दलाल श्रेष्ठको नेतृत्वमा भएको सो कार्यमा जन प्रतिनिधि ,नगर प्रहरी, र प्राबिधिकहरुले सहजीकरण गरेका थिए ।