सेन्ट लरेन्स कलेज  चावहिलको अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेन्ट लरेन्स कलेज  चावहिलको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं भाद्र ८ । विगत २५ वर्ष देखि निरन्तर शैक्षिक उन्नयनमा सक्रिय रहेको सेन्ट लरेन्स कलेज  चावहिलको  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय नाचघर जमलमा  कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरणका साथै परामर्श समेत प्रदान गरेको हो ।

सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ७का वडा अध्यक्ष बिमल होडा रहेका थिए भने बिशेष अतिथिको रुपमा काठमाडौँ महानगर शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी, ,काठमाडाैं महानगरपालिकाको वरिष्ठ विद्यालय सुपरभाइजर र शिक्षा अधिकारी शिक्षा विभागका मोतिराज खनाल, स्रोत व्यक्ति काठमाडौं महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाई, नेपालको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा सेन्ट लरेन्सका सल्लाहकार डा रुद्र शर्मा, पूर्व शकंरदेव क्याम्पस चिफ तथा सल्लाहकार डा कमलदिप ढकाल उत्प्रेरक रबिन कटुवाल,कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन, कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी लगायत फ्याकल्टी हेड शिक्षक शिक्षिका तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन कलेजका प्लस टु कोअर्डिनेटर मुकुन्द ढुंगानाले गरेका थिए ।

स्वागत नृत्य सहित पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमलाइ कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले स्वागत मन्तब्य राखेका थिए । सेन्ट लरेन्समा  आएका विद्यार्थीहरुलाई स्वागत गर्दै  उज्ज्वल भविष्य निर्माणका लागि सेन्ट लरेन्स  कलेजको  उपयुक्त रहेको उनको भनाइ रहेको थियो । पढाई बाहेक  अतिरिक्त क्रियाकलापमा पनि कलेज अब्बल रहेको बताउदै विद्यार्थीको व्यक्तित्व विकासका लागि पनि कलेज सधैँ तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत एलिसा श्रेष्ठले आफ्नो अनुभव सुनाउदै कक्षा ११मा  नया भर्ना विद्यार्थीलाई स्वागत गरिन्। १ वर्ष अघि आफू पनि के होला? कस्तो होला भन्ने दुबिधा सहित कलेज प्रवेश गरेको र आज कलेजले आफूलाई गरिरहेको मार्गनिर्देशन बाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनको भनाइ थियो। कार्यक्रममा कक्षा ११ मा भर्ना भएकी  आयुषा तिमल्सिनाले उत्कृष्ट प्लस टु कलेज छनोटका लागि के गर्ने, कहाँ जाने भन्ने दुबिधाका बिच सेन्ट लरेन्स आइपुगेको बताइन् । शिक्षा सँगै चौतर्फी विकासको अवसर दिने कलेज खोज्दै गर्दा आइपुगेको र शैक्षिक वातावरण, सुलभ शुल्क र व्यक्तित्व विकासका सम्भावनाहरूले आफ्नो खोजी सेन्ट लरेन्समै रोकिएको बताउदै सुन्दर शैक्षिक भबिष्य निर्माणमा सेन्ट लरेन्सका शिक्षकहरुले सहयोग पुर्याउने अपेक्षा सहित सो को लागि   आफूले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्  ।

कार्यक्रममा  सेन्ट लरेन्सबाट आफ्नो अध्ययन पूरा गरी हाल आ- आफ्नो क्षेत्रमा स्थापित डाक्टर, इन्जिनियर, पाइलट, सिए, अधिवक्ता, बैंक अधिकृत  लगायतलाइ कलेजले बिशेष सम्मान गरेको थियो ।बंगलादेश बाट पुरा छात्रवृत्ति पाएर अध्ययन पुरा गरेका एमबिबिएस डा. अभिषेक कुमार शाह, इन्जिनियर विकल्प दंगाल, पाइलट बबिन तामाङ, सिए विदुर चन्द्र ढुंगाना, अधिवक्ता कुमार दंगाल, नेपाल राष्ट्र बैङ्ककी अधिकृत प्रतिमा भट्टराई लगायत पूर्व विद्यार्थी सम्मानित हुँदा हाल कक्षा १२ मा अध्ययनरत अन्जली थापालाई मिस प्लस टु उपाधि जिते बापत कलेजले सम्मान गरेको थियो। त्यस्तै विभिन्न क्लबमा रहेर उत्कृष्ट भूमिका निभाएका विद्यार्थीहरूलाई पनि कलेजले सम्मान गरेको थियो ।

कार्यक्रममा  शिक्षकहरूको प्रतिनिधित्व गर्दै शिक्षक सरोज महर्जनले सबैलाई स्वागत गर्न पाउँदा खुसि लागेको बताए। ‘तपाईँको सफलता हाम्रो प्रतिबद्धता’ एउटा नारा मात्रै नभई कलेजको प्रमुख उद्देश्य भएको हुँदा कलेजले माछा दिने होइन माछा मार्ने सीप दिने उनको भनाइ थियो । नेपालका राम्रा प्लस टु कलेजहरू मध्य सेन्ट लरेन्स एक भएकाले यो कलेज छान्नु विद्यार्थीको जीवनका थोरै राम्रा निर्णयहरू मध्य एक भएको उनले उल्लेख गरे । कलेजले हालसम्म विभिन्न बोर्डमा प्राप्त गरेका उपलब्धि र उत्कृष्ट नतिजाको विवरण पनि उनले जानकारी गराएका थिए।

कार्यक्रममा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले सेन्ट लरेन्स परिवारमा सबैलाई स्वागत गर्दै उत्कृष्ट प्लस टु कलेज छनोट गरेकोमा बधाई दिए । मन्टेश्वरी देखि उच्च शिक्षाको तह सम्म अध्यापन हुने करिब ३५०० विद्यार्थीको समूहमा एक बन्नु आफैँमा गौरवको विषय भएको उनको भनाइ थियो । कलेज विद्यार्थीको उज्ज्वल भविष्यका लागि सधैँ प्रतिबद्ध रहेको र त्यसका लाग ११ वटा क्लब मार्फत अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको उनले उल्लेख गरे। यस्ता क्लब गतिविधिहरूमा पनि शिक्षक सहजकर्ता मात्रै हुने र विद्यार्थीले नै सञ्चालन गर्ने हुँदा विद्यार्थीका प्रतिभाहरू प्रस्फुटित हुने अवसर मिल्ने उनको धारणा थियो। कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको यो दुई वर्ष जीवनकै सम्झनलायक वर्षहरू हुने उनले बताए।

कार्यक्रममा काठमाडौँ महानगर शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदीले आमन्त्रणका लागि आयोजकलाई धन्यवाद दिँदै सामुदायिक विद्यालय मात्रै हाम्रो जिम्मेवारी हो भन्ने सरकारी दृष्टिकोण परिवर्तनका लागि आफू लागिपरेको बताए। कार्यालयमा रहेर करिब ३ वर्ष काम गर्दै गर्दा आफूलाई सामुदायिकले मात्रै विद्यार्थीको चाप धान्न नसक्ने रहेछ भन्ने महसुस भएको बताए । आजको दिनमा २ लाख विद्यार्थी संस्थागत शैक्षिक संस्थामा भर्ना हुँदा ५० हजार मात्रै सामुदायिकले लिने गरेको उनको भनाइ थियो । संस्थागत विद्यालयहरूलाई पनि सँगै लिएर जाने र न्यूनतम मापदण्ड पूरा नगर्नेलाई बन्द गराउने गरी महानगर अघि बढिरहेको पनि उनले बताए । संस्थागत विद्यालयले उत्पादन गरेका जनशक्ति विदेश पलायन हुन्छन् भन्ने आरोप सुनिने गरेको भन्दै उनले देशमै काम गरी खान सक्ने जनशक्ति उत्पादन गर्नेतिर लाग्न सुझाव दिएका थिए ।

कार्यक्रममा उत्प्रेरक रबिन कटुवालले   विद्यार्थीलाई  बिभिन्न प्रस्तुतिकरण र प्रेरक भनाई सहित उत्प्रेरणा तथा परामर्श प्रदान गरेका थिए  धैर्यता नै विद्यार्थीका लागि अपरिहार्य तत्त्व भएको हुँदा जीवनमा धैर्यता नगुमाउन उनले विद्यार्थीलाई सुझाव दिए। थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको प्रशस्त उदाहरण अनि उनीहरूको संघर्ष अनि सफलताको कथा प्रस्तुत गरेका कटवालले विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दैसेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले कक्षा सुरु हुनुभन्दा अगाडी सफलतापूर्वक प्लस टु तह पार गर्नका लागि विद्यार्थीलाई मार्गदर्शन दिन र उत्प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। पूर्व मेची देखि पश्चिम महाकाली सम्म देशका ७७ वटै जिल्ला बाट आफ्नो उज्ज्वल भविष्यका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई यो निर्णय उपयुक्त भएको भन्दै कलेजले उनीहरूको अन्तर्निहित प्रतिभाको विकास गर्दै देशलाई योगदान दिन सक्ने जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

 सेन्ट लरेन्स एउटा फूलबारी भएको र त्यस फूलबारीमा राम्रो फुल फुल्नका लागि चाहिने राम्रो माटो, माली, उर्वर वातावरण आदि सबै भएका कारण सेन्ट लरेन्स उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए। सेन्ट लरेन्स पढेर आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरू उदाहरणका रूपमा अगाडी नै रहेको भन्दै उनले कलेजले आफ्नो गुणस्तरलाई भोलिको दिनमा पनि कायम राख्ने प्रतिबद्धता  ब्यक्त गरेका थिए ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ चाबहिल पिपल बोटमा रहेको यो कलेज सन् १९९७ देखि संचालनमा आएको हो। केजी देखि पीजी सम्म पठनपाठन हुने सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा बिज्ञान ,व्यवस्थापन ,मानविकी र कानुन संकायका विभिन्न विषयहरु रहेका छन।सैद्धान्तिक ज्ञानका साथसाथै प्रयोगात्मक सिपलाई पनि जोड दिँदै  कलेजले बैंक सम्बन्धी तालिम, होटल व्यवस्थापन सम्बन्धी तालिम, सञ्चालन गर्दै आएको छ भने  मानविकी संकायमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा पनि  प्रदान गर्दै आएको छ।काठमाण्डौ उपत्यकाका जुन सुकै स्थानबाट सजिलै पुग्न सकिने यस कलेजमा नियमित पठनपाठन संगै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापहरु पनि संचालन हुने गरेका छन।

तपाइँको प्रतिक्रिया ।