गोकर्णेश्वर ४ उत्तरबाहिनीमा विद्यालयस्तरीय भानुभक्तीय रचना वाचन प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं साउन ५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीमा विद्यालयस्तरीय भानुभक्तीय रचना वाचन प्रतियोगिता सम्पन्न भएको छ । बुधबार श्री कान्ति भैरव विद्यालयका पूर्व विद्यार्थीहरुको समूह मित्रताको जहाज को संयोजन एवं श्री कान्ति भैरव विद्यालयको समन्वयमा भएको उक्त कार्यक्रममा २२ विद्यालयका ४० प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो। नेपाली भाषाका एकीकरणकर्ता एवं आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्य जगत्लाई दिएको योगदानको सम्मान स्वरूप आयोजना गरिएको उक्त प्रतियोगितामा प्रतियोगितामा मोक्षदा स्कुलकी सोनिया श्रेष्ठ प्रथम भएकी थिइन् ।
त्यसैगरी क्रमश ब्राइट फ्युचरका आशिष अधिकारी, रिम्स स्कुलकी श्रृष्टि चापागाई, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् भने प्रोत्साहन स्वरूप सरस्वति मा.वि कि दिपिका दाहाल, गोकर्ण मा.वि कि कुसुम कुँवर र कान्ति भैरव गुरुकुल विद्यालयको केदार पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन।
विजयीहरूले क्रमश नगद रु. ५०००, रु. ३०००, रु. २००० र प्रोत्साहन स्वरूप १००० सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा, युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दण्डपाणि शर्मा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा निर्णायकको भूमिकामा वरिष्ठ युवाकवि बलराम दहाल, कवयित्री प्रभा भट्टराई एवं बाजुराम पौडेल रहेका थिए ।