भन्न कहाँ सकिन्छ र ? : त्रिलोचनआचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार ११ ।
कतै बरफमा तातो बँचेको हुन सक्दछ
कतै महलमा चर्को गरिबी रुन सक्दछ
कतै सागरमै बस्ती हुन सक्दछ सुन्दर
कतै यस्तो हुँदै हुन्न भन्न कहाँ सकिन्छ र ?
हुन सक्छ कतै ज्योति कालो बादलमै पनि
सुख्खा बञ्जरमा होलान् कतै सुन्दर जीवनी
कतै भेटिन्छ खोजेमा फोहरैतिर मोहर
अहो ! त्यस्तो हुँदै हुन्न भन्न कहाँ सकिन्छ र ?
कतै सन्त्रासकै बाटो आशाको घर आउला
कतै त दुःखमा हिँड्दा सुखको स्वाद पाउँला
कतै विवादकै बाटो सम्वाद खुल्छ निर्झर
सधैँ यस्तो हुँदै हुन्न भन्न कहाँ सकिन्छ र ?
कतै बन्द भरी होला खुलम्खुला सबै कुरा
खुलाभित्रै कतै होला रहस्यमय टाकुरा
जे देखिन्छ त्यहीमात्रै हैन सृष्टि चराचर
अहँ त्यस्तो हुँदै हैन भन्न कहाँ सकिन्छ र ?
कतै जितेँ भनी बस्दा हारको भ्वाङ्ग देखियोस्
भयो हार भनी ठान्दा जितकै रङ्ग पोतियोस्
कतै छल्न गर्यो दाउ त्यैँ हुन्छ गर वा मर
म पक्का दुनियाँ नाथे, भन्न कहाँ सकिन्छ र ?
हिँड्ने वा दौडिने उड्ने आफैँ आफ्नो निमित्त हो
नौलो काम गरौँ आफ्नै चुनौती त सिनित्तहो
भन्नेले त भनिदिन्छन् जँगार सजिलै तर
अरू ढोका सबै बन्द, भन्न कहाँ सकिन्छ र ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक