नाटक : निर्मला बराल (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २८।
दश वर्षे नाति डोर्याउँदै पशुपतिनाथको दर्शन गर्न हजुरामा गौशाला गएकी थिइन् । दर्शनपश्चात् हजुरामा र नाति सरासरी सिढी उक्लदै मृगस्थलीतर्फ लागे । सम्पुर्ण पशुपति परिसर नै प्रवचनले गुञ्जायमान भइरहेको थियो । प्रवचन भनेपछि मरिहत्ते गर्ने हजुरामाको मन के थाम्थ्यो र ? नातिलाई हात तानेर बसाउँदै आमैपनि एक छेउमा बसिहालिन् ।
वाचक गुरु मधुर वाणीमा भन्दै थिए, ‘यो संसार एउटा नाट्यशाला हो । यसमा हामी मान्छे कलाकार हौँ । हामी आ–आफ्नो भागको अभिनय गर्दै नाटक गर्दैछौँ ।’ त्यस कुरामा अति नै चित्त बुझेकी हजुरामाले बेस्मारी ताली पड्काइन् ।
वाचन सकिएपछि हजुरामा र नाति, आर्यघाट छेऊ आइपुगे । त्यहाँ एउटा लास वरपर मान्छेहरु छाति पिटीपिटी बिलौना गर्दै रोइरहेका थिए । नातिलाई त्यो अनौठो लाग्यो । आश्चर्यले भरिएको उसका आँखा बल्ड्याङग्रा भए । ऊ अबोध रुपमा अचानक करायो, ‘आमा, अघिको गुरुले भनेको साँच्चै रहेछ नि हेर्नु त उ त्यो सेतो कपडा ओढेको एउटा कलाकार ! अनि हेर्नु न ती रुँदै गरेका अरु कलाकारहरु । यिनीहरुले कतिबेरसम्म नाटक गर्नुपर्छ, आमा ?’ नातिको कुरा सुनेर हजुरआमालाई असहज महसुस भयो । उनले हत्तपत्त एक हातले नातिको मुख थुनिदिइन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक