चुनाव सकियो : दिनेश निरौला (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७ ।
धनिरामले रिक्सा थन्क्याएको चौध दिन भयो । पहिला पनि लकडाउनमा यसरी नै रिक्सा थन्किएको थियो । उसबेला छोरा छोरीलाई नूनपानी समेत खुवाउन नपाउँदा आत्माहत्या गर्ने सम्मको सल्लाहा गरेका थिए, धनिरामका जोईपोइले ।
यो बेला भने चौधै दिन चाहेजति, चाहेकै चिज घरमा पाकेको थियो । धनिराम सधैँ टन्न पिएर लरबराउँदै आउँथ्यो । उसकी स्वास्नी रिसाउनुको सट्टा मुस्कानले स्वागतगर्थी ।आज पनि उसले पिएर आयो ।
नगद देखाउँदै भन्यो, ‘तेरो दुई हजार मेरो दुई हजार, के गर्ने यिनीहरूको उमेर पुगेन नत्र आज सोह्र हजार हुन्थ्यो ।’ खुशीमै पनिउसले असन्तुष्टि पोख्यो मानौँ छोरा छोरी ढिलो जन्माएर ऊ पछुतो मान्दै छ ।
पन्ध्र दिनको दिन थियो ।केही मानिस पुरानै ठाउँमा उसै गरी बोतल रित्याउँदै अट्टाहाँस हाँस्दै थिए । जसरी हिजो अस्ति गर्दथे ।धनीराम पनि मुख मिठ्याउँदै गएर छेउमा बस्यो । हिजो चारहजार दिनेले आज हप्काएर भन्यो, “ए धनीराम जा, आफ्नो रिक्सा निकाल । चुनाव त हिजै सकियो।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक