राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि ‘ग्रिन हिल’ को खेल सामग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि ‘ग्रिन हिल’ ले खेलकुद सामग्री सहयोग गरेको छ । पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।
पाकिस्तानी कम्पनी ‘ग्रिन हिल’ ले गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितालाई अन्तर्राष्ट्रिय बक्सिङ महासंघको सर्टिफाइड खेलकुद सामग्री सहयोग गरेको हो । ‘ग्रिन हिल’ ले हेड गार्ड, ग्लोभ्सलगायतका सामग्री सहयोग गरेको हो ।
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत अहिले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन भइरहेको छ । २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

तपाइँको प्रतिक्रिया ।