भारतको बैंक अफ बरोडालाई स्वर्ण

कपन अनलाइन
काठमाडौं, चैत १६  ।
भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी   (एजीए) लाई ३–१ ले पराजित ग¥यो । बरोडाले ३ सिंगल्समा जित हात पार्यो  भने डबल्स स्पर्धा गुमायो ।
सिंगल्समा बरोडाकी इशाले एजीएकी फिल्जाहलाई १२–१०, १२–१०, १०–१२ र १२–१०, गत संस्करणकी सिंगल्स विजेता बरोडाकी ममता प्रभुले त्रिशालाई ११–९, ११–३, १०–१२ र १५–१३ तथा पुनः ममताले फिल्जाहलाई ११–५, ११–७ र ११–४ को सेटमा हराए । डबल्समा एजीएका फिल्जाह र त्रिशाको जोडीले बरोडाका ममता र इशाको जोडीलाई ११–५, ११–९, ६–११ र ११–८ ले पन्छ्याउदै सान्त्वना जित निकाले ।
पहिलो दिन पुरुष सिंगल्सका लिग चरणका खेलहरु पनि भए । उक्त स्पर्धामा सहभागी ८८ खेलाडीलाई १६ समूहमा विभाजन गरी खेल खेलाइएको छ । त्यसबाट १६ खेलाडीले नकआउट चरणमा स्थान बनाउने छन् ।
सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भइरहेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि गरी ६ स्पर्धामा समावेश छन् । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहेको आयोजक ललितपुर जिल्ला टेबलटेनिस क्लबले जनाएको छ । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भइहरहेको प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

तपाइँको प्रतिक्रिया ।