काठमाडौं–६ हायत रिजेन्सी होटेलको कम्पाउण्डबाट युरेनियम जस्तो धातु सहित ८ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,फागुन ४।
नेपाल प्रहरीले काठमाडौंमा दुई किलोभन्दा धेरै युरेनियमसहित आठ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित हायत रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने र ललितपुर महानगरपालिका–१४ घर भएका ६० वर्षीय नवराज महत रहेका छन् ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास, सिरहाको वरियापारपट्टी गाउँपालिका–१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछनारायण यादव, महोत्तरी घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारतको बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारतको महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुरलाई प्रहरीले पक्राउ गरेको जनाएको छन् ।
काठमाडौंको बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई यूरेनियमको संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले बा.५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भुपेन्द्र र नवराजलाई फेला पारी पक्राउ गरेको थियो ।
सोधपुछका क्रममा उक्त पदार्थलाई उनीहरूले भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रुपियाँ मूल्यमा विक्री गर्न लागेको र उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले कार, बा.२६ प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचयपत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्धामा ७ दिन म्याद थप अनुमति प्राप्त गरी महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।