बुढानीलकण्ठ चेतनशिल महिला समाजले आज र भोली योमरी महोत्सव गर्दै

बुढानीलकण्ठ चेतनशिल महिला समाजले आज र भोली योमरी महोत्सव गर्दै

कपन अनलाइन

काठमाडौँ, पौष ३।  बिगतमा जस्तै यस पटक पनि  बुढानीलकण्ठ चेतनशिल महिला समाजद्वारा पौष ३ र ४ गते गरि दुईदिन योमरी महोत्सवको आयोजना गर्ने भएको छ।प्रत्येक वर्ष योमरी पुर्णिमा (पुन्ही) को अवसर पारि उक्त महिला समाजद्वारा बूढानीलकण्ठ मन्दिरमा योमरी महोत्सवको आयोजना गर्दै आएको छ।

हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा अर्थात योमरी पुन्ही  यस बर्ष पौष ४ गते  पर्न गएको छ। सोहि अवसरमा योमरी महोत्सव ३ र ४ गते गरि  दुई दिन  बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन गर्न लागिएको आयोजकले जनाएको छ  । उक्त महोत्सवमा योमरी लगायत अन्य परिकारहरुको समेत व्यवस्था रहेको आयोजकले बताएको छ।  चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन रहेको छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी/मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको बताइन्छ ।

इष्टमित्र, साथिभाई, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान प्रदानको रुपमा पनि लिने गरिएको छ । योमरी दिन र रातसँग पनि जोडिएको पाइन्छ । बाहिरको चामलको सेतो भागलाई उज्यालो र भित्रको कालो भागलाई अँध्यारोको प्रतीकसमेत मानिन्छ ।योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग निको हुने भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ । चिसो मौसममा नयाँ चामलको पिठो खाँदा शरीर न्यायो हुन्छ। योमरीमा प्रयोग हुने चाकुले पनि शरीरको तापक्रमलाई बढाउनुको साथै शरीरमा ऊर्जा दिन्छ। योमरीमा प्रयोग हुने तिल र नरिवलले शरीरलाई चिल्लो पद्धार्थ प्रदान गर्छ। जाडोमा इनर्जी चाँडै सकिने हुँदा छिटै भोक लाग्छ। तिल र नरिवल अडिलो हुने हुँदा छिटो भोक लाग्दैन।

 

 

तपाइँको प्रतिक्रिया ।