कागेश्वरीको मुलपानी नगर अस्पताललाई रोटरी क्लव द्वारा स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौँ, कात्तिक २३ । कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पताललाई रोटरी क्लवले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मुलपानी नगर अस्पतालमा कात्तिक १७ गते नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नगर प्रमुख कृष्णहरि थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।प्राप्त स्वास्थ्य सामाग्रीहरुनगर प्रमुख थापाले अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य मन्त्री बिरोध खतिवडाले सबै नेपालीहरुलाई आगामी चैत्र महिनासम्म खोप लगाइसक्ने सरकारले तयारी गरेको बताउदै मुलपानी नगर अस्पतालको समग्र सुधार र व्यवस्थापनका लागि आफूले सक्दो सहयोग गर्ने बताएका थिए । त्यसै गरि मन्त्री खतिवडाले कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पताललाई जग्गा प्राप्ति लगायत आवश्यक कार्य गर्नका लागि नगर प्रमुख संग सरसल्लाह र समन्वय गरेर मन्त्रालयले सहयोग गर्ने समेत बताएका थिए । उनले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा रोटरी क्लवलाई धन्यवाद दिदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सहयोग जारी राख्न आग्रह गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि थापाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा मात्र राष्ट्रियस्तरको अस्पताल नभएकोले अस्पताल निर्माणका लागि आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका थिए ।उनले मुलपानी नगर अस्पतालको क्षमता बिस्तार लगायका कार्य गर्नका लागि जग्गा प्राप्ति लगायत आवश्यक सहयोग गर्न पनि स्वास्थ्य मन्त्रीलाई आग्रह गर्दै थापाले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले नगरपालिकाले आफ्नो क्षमता अनुसार स्वास्थ्य सेवा प्रदान गरिरहेको पनि जानकारी गराएका थिए ।कार्यक्रममा रोटरी क्लवका डिस्ट्रिक गभर्नर राजीव पोखरेलले क्लवले स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग गरिरहेको बताउदै स्वास्थ्य क्षेत्रमा आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए ।कार्यक्रममा रुद्रमति रोटरी क्लवका सुदिप कोइरालाले ३५ लाख रुपैयाँ जतिको स्वास्थ्य सामाग्री अस्पताललाई सहयोग गरिएको जानकारी गराएका थिए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँल लगायत जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।