दान : प्रा. डा. कपिल लामिछाने ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १३ ।
कोरोनाले गर्दा लक डाउन थियो । उसलाई केही न केही दिऊँदिऊँ भयो । ‘दान पनि हुने, समाचारमा नाम पनि आउने । केही दान त गर्नै पर्छ ।’ उसले सोच्यो, ‘तर के दान गर्ने ?’
‘दान गर्न भनेपछि बजारबजार हिँड्न पाइने । घरबाहिरको संसार देख्न र बुझ्न पनि पाइने ।’ मुखमा मास्क र काँधमा एउटा झोला भिरेर ऊ घरबाट निस्क्यो ।
बाटोमा एकजनाले टोक्यो, ‘कता हो यो लक डाउनमा ?’
उसले एकाएक भन्यो, ‘राहतका लागि नि ।’
‘ल बधाई छ । तिमीले पनि राहत पाउने भएछौ ?’
‘हैट ! के म राहत लिने जस्तो देखिन्छु ? दिन हिँडेको हुँ दिन ।’
ऊ सरासर अगाडि बढ्यो । सोध्नेवाला ‘हँ !’ भन्दै आफ्नो बाटो लाग्यो ।
बाटोमा यस्ता धेरै भेटिए, ‘तर दान के गर्ने ?’ उसले निश्चय गर्न सकेन ।
उसले एक ठाउँमा रक्तदान भइरहेको देख्यो । ‘अहँ, यो इम्युन पावर बढाउने बेलामा रक्तदान गरेर कमजोर हुनु–हुन्न ।’ उसले आफ्नो मनलाई सम्झायो ।
एक ठाउँमा आँखा दानको कुरा हुँदै थियो । ‘ओहो ! यो दान पो दान ! दान पनि हुने अहिले नै दिनु पनि नपर्ने । मरेपछि जेसुकै होस् ।’
एउटा कार उसका छेउमा घचक्क रोकियो ।
दायाँबायाँ पल्याकपुलुक्क हेरेर भन्यो, ‘दाइ, के खोज्नुभएको ?’
‘दान गर्न खोजेको ।’
‘के दान गर्न खोजेको ?’
‘त्यही थाहा छैन ।’
‘चन्दा बाँड्नुहुन्छ ?’
‘बाँड्थेँ नि, भए ।’
उसले लाखलाखका गड्डी देखायो र भन्यो, ‘ल तपाईं एउटा किड्नी दिनुहोस्, म यो दिन्छु ।’
‘घरसल्लाह गर्छु ।’ उसले भन्यो र आफ्नो सम्पर्क नम्बर टिपायो ।
ऊ सोच्दै गयो, ‘इच्छा भए त पुग्दो रहेछ । ओहो मूला पैसा मात्र हो र दान ?’
उसले चित्त बुझायो । ‘घुमेपछि ज्ञान बढ्छ भन्थे । हो रहेछ ।’ उसले सोच्यो ।
एक्कासि उसलाई नयाँ ज्ञानको स्फुरण भयो, ‘दिनुको मतलब दान । दानको मतलब दिनु । मैले बाटामा यतिकालाई जबाफ दिएँ ! अब भयो नि त दान ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक