के दशैँ के तिहार ? त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

१. अतिशय गरिबीले थिच्छ छाती अपार
हरपल पसिनाले भिज्छ मेरो निधार
घर पनि पहिरोले पारिहाल्यो अचार
मकन त हुन थाल्यो, के दशैँ के तिहार ?

२. टह टह शरद्ले चित्त चम्काउँदैन
मग मग मग बास्ना फूलले ल्याउँदैन
हर पल पल दुख्दा, जिन्दगानी असार
तब यस निमुखाको, के दशैँ के तिहार ?

३. घरभरि जब खाने अन्नको छैन दानो
दिन कुन कुन राती बासको छैन छानो
पर अतिपर भाग्दा जिन्दगीको बहार
सुख विमुख हुनेको, के दशैँ के तिहार ?

४. न खबर परदेशी पुत्रको आउने खै ?
न मलम मन दुख्ने रोगको पाउने खै ?
वर पर सब रित्तो गर्छु स्वीकार हार
चिलबिल छ सधैँको, के दशैँ के तिहार ?

५. प्रकृति पनि खुलेको किन्तु खुल्दैन आश
कल कल किन पानी मेट्न सक्दैन प्यास ?
हर बखत विपद्को खप्नु पर्ने प्रहार
यस विकल कुटीमा, के दशैँ के तिहार ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।