९ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै नगर अधिवेसनको तयारीमा नेकपा एमाले गोकर्णेश्वर
कपन अनलाइन
काठमाडौँ,कात्तिक ८ । गोकर्णेश्वर नगरपालिकाका ९ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको नेकपा एमाले नगर अधिवेसनको तयारीमा जुटेको छ। नगर अधिवेसन हुने वडा नं ५ मा रहेको ड्रिम हाउस पार्टी प्यालेसमा नगर कमिटीको बैठक आयोजना गर्दै नेकपा एमाले गोकर्णेश्वरको अधिवेसन तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
नगर अधिवेसनलाई व्यवस्थित र भव्य बनाउनका लागि प्रतिवेदन लेखन,कार्यक्रम व्यवस्थापन,प्रचार प्रसार र स्वयंसेवक उप समिति घोषणा गरेको बैठकले प्रतिनिधि छनौट सहित विभिन्न विषयमा निर्णय गरेको नगर कमिटीका अध्यक्ष उद्दव बिष्टले जानकारी दिएका छन।कार्तिक ६ गते भएका वडा अधिवेसनहरुले नेकपा एमालेका नेता,कार्यकर्ता,समर्थक,शुभचिन्तहरुमा व्यापक उत्साह देखिएको भन्दै अध्यक्ष बिष्टले कार्तिक ९ गते सर्वसम्मत नगर कमिटी घोषणा गर्दै निर्वाचन तयारीको अभियान शुरु गर्ने बताएका छन।
नेकपा एमालेमा देखिएको विवाद संगै चोइटिएर बनेको नेकपा एसमा सनाखत गरेका केहि जनप्रतिनिधिहरु नेकपा एमालेमा फर्किसकेको र केहि सघन सम्पर्कमा रहेको जानकारी दिदै बिष्टले अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि ९ गते हुने अधिवेसनको उद्घाटनमा सहभागी हुनका लागि आग्रह गरेका छन।१६ सय ५६ जना संगठित सदस्य रहेको नेकपा एमाले गोकर्णेश्वर अधिवेसन कार्तिक ९ गते बिहान ११ बजे ड्रिम हाउस पार्टी प्यालेसमा हुने जानकारी दिदै बिष्टले व्यापक सहभगिताका लागि नगरवासीमा अनुरोध समेत गरेका छन।