धाक : ओमप्रसाद कोइराला (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

सक्दैन काम तर आँट भने कडा छ
अशक्त भैकन सदा किन हो खडा छ
गर्दै रहे मुलुकमा शुभ कर्म लाख
आफैं कठोर भइ दिन्छ अनेक धाक ।

खानेकुरा समयमा नभए जरक्क
फर्केर जान मनसाय गरे सरक्क
थोरैछ जाँगर कुरा पनि गर्छ लाख
छोटो बढे पछि सबैतिर दिन्छ धाक ।

कङ्गालभै दिनदिनै अझ झन्कठोर
गर्दो छ गर्जन कडा घरमा कठोर
गर्दैन आदर अनादरमा छ चाख
आफैं गजक्क भइ दिन्छ सदैव धाक ।

ठूलो हुने जनम जन्मभरी रमाई
आपूm खुशी छ तर छैन अझै कमाई
हल्लेर मानिस कता तिर पुग्छ खास्
उत्साह बेगर सधैं तर दिन्छ धाक ।

आवेगमा सकल काम भयो खरानी
वर्बाद हुन्छ जनको किन यो जवानी
जाला र खै मन कतातिर लौ न ताप
पुग्दैन केवल दिएर असंख्य धाक ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।