काठमाडौँ महानगरपालिकाको एक वडा एक पार्क नीति : वडा नं ५ मा नरबुद्धपार्क शिलान्यास

काठमाडौँ महानगरपालिकाको एक वडा एक पार्क नीति : वडा नं ५ मा नरबुद्धपार्क शिलान्यास

कपन अनलाइन

काठमाण्डौ ,साउन ५।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताएका छन  ।

आज वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्  । ‘कठमाडौँ महानगरपालिकाले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भने , ‘नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप नै हो ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताए  । ‘काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भने , ‘अहिलेसम्म करीब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ ।

कुनै ठूला वडा छन्, कुनै साना वडा छन् कुनै सार्वजनिक जग्गा नभएका वडा पनि छन् । सार्वजनिक जग्गा धेरै भएका वडा पनि छन् । कुनै वडामा १०–१२ वटा पार्क पनि बनेका छन् । कुनै वडामा एउटा मात्रै भए पनि बनेको छ ।’ उहाँले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराएका थिए  । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको छौँ,’ उनले भने , ‘बनाउने जिम्मा हामी लिन्छौँ, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो । हामी काठमाडौँ महानगरलाई सुन्दर बनाउने अभियानमा छौँ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै वागमती प्रदेशका सांसद नारायण सिलवाले हाँडीगाउँदेखि कपन निलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको बताएका थिए  । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिका पार्क निर्माण र हरियाली कायम गर्ने अभियानमा निरन्तर रहेको बताईन  । वडाध्यक्ष रमेश डंगोलले भूमाफियाहरुले कब्जा गर्न आँटेको जग्गाको संरक्षण गर्दै पार्क निर्माणको काम अघि बढाउन पाउँदा खुशी लागेको बताए  ।

कार्यक्रमलाई नरबुद्ध विहारका प्रमुख भिक्षु पुुण्ण स्थविर भन्ते पञ्जारत्न स्थविरलगायतले पनि सम्वोधन गरेका थिए  । करीब सात रोपनी क्षेत्रफलमा निर्माण हुन सो पार्कको लागत १ करोड ४८ लाख रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी रहने छ ।

त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौतारहरु पनि रहने छन् । पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहने भने १५ फिट गोलाइको फाउण्टेनसहितको पोखरी रहने छ । व्यायम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मुर्तिसमेत राख्ने योजना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।