‘म बुध्द भएर जन्मन चाहन्छु’ भित्र चियाउँदा
कपन अनलाइन
काठमाण्डौ ,असार २५ /त्रिलोचन आचार्य
श्री विनोद न्यौपाने साहित्य तथा शिक्षा क्षेत्रमा सक्रिय र स्थापित नाम हो । उहाँको पछिल्लो कविता कृति मेरो हातमा परेको छ । उहाँको नविनतम काव्य रचनामा समेटिएका विषयका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ । उहाँलाई आफ्नो जन्म बुध्दको जस्तो सुकर्म गर्ने पुत्रको रुपमा होस् भन्ने इच्छा रहेको छ । मानवताका पुजारी सिध्दार्थ गौतम बुध्दलाई सत्यवादी र दीन दुःखीको सेवामा समर्पित विश्व शान्तिको पर्यायको रूपमा लिने गरिन्छ । यस्तै योगदान गर्ने दोस्रो व्यक्ति कुनै पनि देशमा जन्मिएको नपाइएको र विश्वमा इष्र्या द्वैष लडाई झगडा हुने गरेको कारण बुध्दतर्फ आशावादी हुने गरिएको छ । त्यसैको अन्त्यको लागि यस्ता थप बुध्दहरू आवश्यकता रहेको छ । बुध्दकै पदिचन्हमा हिँड्ने असल अनुयायी हामी बन्नु परेको छ । तसर्थ म बुध्द भएर जन्मन चाहन्छु भन्दै कवि शान्तिपूर्ण समाजको पक्षमा उभिनु भएको छ । म बुध्द भएर जन्मन चाहन्छु कविता कृति मार्फत आफना भावना व्यक्त गर्नु भएको छ । संखुवासभा जिल्ला चैनपुरमा जन्मिनु भएका कवि विनोद न्यौपानेका दश वटा साहित्यिक तथा अन्य कृति प्रकाशित भैसकेका छन् । उहाँका बालबालिका सम्बन्धी ६ वटा कृति, खण्डकाव्य, सामान्य ज्ञान र अन्य ज्ञानबर्धक सन्दर्भ पुस्तकहरू प्रकाशित भैसकैका छन् । यसरी उहाँले नेपाली साहित्य क्षेत्रमा दरो उपस्थिति जनाई सक्नुभएको छ । २०७७ जेष्ठमा शर्मिला न्यौपानेव्दारा म बुध्द भएर जन्मन चाहन्छु नामको कविता कृति प्रकाशित गर्नु भएको छ । हाल बेलायतको लण्डनमा रहनु भएका कवि न्यौपाने राष्ट्रिय भावनाबाट ओतप्रोत कविता लेख्न रुचाउनु हुन्छ । विदेशको अकल्पनीय विकास हेर्दै स्वदेशमा भइरहेको मन्द गतिबाट परिवर्तन हुन नसक्ने हुँदा सुधारको अपेक्षा गर्नुहुन्छ । नेपालमा हुँदा पनि शैक्षिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण योगदान दिनु भएका कवि न्यौपानेले कोरोना कहरले थला बसालेको बन्दाबन्दीको अवस्थालाई सदुपयोग गरी आफ्ना भावनाहरूको कवितात्मक सँगालो पाठकहरू सामु सुम्पिनु भएको छ ।
म बुध्द भएर जन्मन चाहन्छु कविता कृतिमा ४३ वटा कविता सङ्ग्रहित भएका छन् । यस कृतिको खण्ड क मा ३६ वटा कविता र खण्ड ख मा ७ वटा बाङ्गा कविताहरू सङ्ग्रहित भएका छन् । यी कविताहरूमा मूलतः समाज र राष्ट्रप्रति चिन्ता व्यक्त गरिएको, भौतिक प्रगतिको पछाडि दौडिने चिन्तन प्रति चिन्ता जाहेर गरिएको, त्याग वा समर्पणमा समर्पित हुने इच्छा नरहने प्रवत्तिमा आलोचनात्मक दृष्टि लगाएको, शक्ति आर्जन गरी बाहुबली हुने मात्र भावना राख्नु भन्दा मानवीयताको बाटोमा हिँड्नुपर्ने भावना रहनुपर्ने पक्षमा उभिएको, राजनैतिक सामाजिक र आर्थिक पक्षमा भएका विकृतिले तयार पारेको बिम्ब चित्रहरू अगाडि सारिएको, मातृभूमिको माया स्नेहभन्दा पर विदेशमा रहनु परेको दुःखानुभूति, मानवजन्य क्रुर पञ्जामा नपरेको विशुध्द प्राकृतिक संसारको परिकल्पना गरिएको, मानवीय जीवनको दुःख सुख व्दैष रागको अन्त्य, उन्नति प्रगति प्रतिको चाहना र यथार्थता बीचको खाडलको उजागर गरिएको, समाजमा रहेका अत्यन्त उन्नत प्रतिभाहरूको प्रशंसा, मानिसको दृश्य पटलमा आउने प्रेम भावना र सौन्दर्यको प्रशंसा परदेशमा हुने देश प्रतिको माया आदि विषयको बिम्ब प्रतीक अनुप्रास तथा लयमा सुसज्जित भावना पुञ्जका रुपमा यो कविता कृति पाएर नेपाली साहित्य भण्डार सौभाग्यशाली बनेको छ ।
कविता कृतिमा समेटिएका बाङ्गा कविताहरूले नेताहरूका झुटा आश्वासनमाथि दरो लट्ठी हिर्काइएको छ, संस्कृति नासिएको प्रति चड्कन चलाइएको छ, फेसन विगार्ने चटारो प्रति झटारो हानिएको छ, देश छाडेर विदेश जाने प्रवृत्तिमाथि व्यङ्ग गरिएको र विदेश पुगेपछिका कष्टहरू माथि चासो राखीकएको छ । साथै आफ्नो आफ्नो डम्फु बजाउने आफू पनि नसुध्रने र अरूलाई पनि सुध्रन नदिने प्रबृत्तिमाथि सचेतता जगाउने जमर्को गरिएको छ । समग्रमा आफू सुध्रन्छु भन्दै सम्पूर्ण समाजलाई सुधिरिन अभिप्रेरित गरिएको छ । कविताहरू समाजको उज्यालो अनुहार, प्रफुल्लित प्रकृति, विकृतिको अन्त्य, इमानको कमाई, राष्ट्रिय भावनाको जागरण आदिमा मा केन्द्रित रहेको देखिन्छ ।
म बुध्द भएर जन्मन चाहन्छु कृतिमा समेटिएका कविताहरूमा पहिलो कविता प्राप्ति हो । यसमा वर्तमानमा भौतिक प्रगतिले सम्मृध्द भएको संसारमा खै त मन शान्त भएको किन मन अशान्त नै रहन गएको हो त भन्दै सत्य तथ्य उजागर गरिएको छ । पौराणिक कालमा देखिएका दानबीर कर्ण जस्ता व्यक्तित्वको आज किन अभ्युदय भएको छैन । के यी सबै हामीले प्राप्ति भनेर स्वीकारिएका विष वृक्षका कारणले त होइन भनी गह्रुङ्गो प्रश्न उठाइएको छ । समाजलाई दिशा निर्देश गर्ने यस्ता कविताहरूमा प्राप्ति, लाशको अनसन, जिन्दगी, शिखण्डी र राजहरू, बचाएर जित्नेहरू, ग्यास च्याम्बर भित्रबाट, देश जलिरहेछ, पूर्णता, म त्यो दिन पर्खिरहेछु, धोकेबाजहरू आदि कविता रहेका छन् । उदाहरणको रुपमा यो कवितांशलाई लिन सकिन्छ ः
म उभिएकै ठाउँमा
लग्भग काप्न थालेँ
आफ्नै समयका
आफैँले चिनेका
नयाँ हिट्लरहरूको डरले । (ग्याँस च्याम्बर भित्रबाट)
कविता कृतिमा मानवीयताको पक्षमा हिमायती भई उभिएका र जागरण ल्याउन सक्ने सशक्त हस्ताक्षर यहाँ देख्न सकिन्छ । आफ्नो धरातल नबिर्सिई घरलाई स्वर्ग बनाउँन सकिने कुरा प्रदीप्त भावना र सुललित शब्दको बाटो गरेर आएका छन् । यी कविताहरूमा इच्छा, त्याग, म बुध्द भएर जन्मन चाहन्छु मुख्य रहेका छन् । इच्छा कवितामा दुःखीहरू माथि भरोसा बन्न सकुँ, अभिमान नगरी आफ्नै धरातलमा उभिएर आफन्तहरूको माया पाएर हाँसिखुसी बाँच्न पाउँ भन्ने इच्छा राखिएको छ भने म बुध्द भएर बाँच्न चाहन्छु भन्ने कवितामा उहाका भावना यसरी छचल्किएका छन् ः
अब फेरि एकपटक
नेपाली आमाहरूको कोखबाट
सिध्दार्थ भएर जन्मन चाहन्छु
तराईको लुम्बिनीतिर
पहाडको पाखातिर र
हिमालका खर्कतिर । (म बुध्द भएर जन्मन चाहन्छु)
यस सङ्ग्रहमा समेटिएका कविताको अर्को प्रवृत्ति हो विदेशमा रहेर स्वदेशतिर दौडिएका अनुभूतिहरूको फरक स्वाद। देश भन्दा बाहिर रहनुपर्ने मानव जीवनका विविध पक्ष र कारणहरू रहन सक्दछन् । देश बाहिर रहँदा देशको माया घट्ने होइन बरु बढ्दछ । जन्मिएको हुर्किएको पढिएको बढिएको देशका पहाड पाखा मैदान तराई पाखा पखेरा कसरी पराई हुन सक्दछन् र किमार्थ हुँदैनन् । यही भावनाको केन्द्र विन्दुमा रचिएका मेरो मन, अनुरोध, यात्रा, सम्झना, मकालु, मनभित्रको नक्सा, पूर्णता, पीडा, दिदि, म र मेरो सहकर्मी केटो समेत रहेका छन् । स्वदेशमा मात्र रहनेले गर्न नपाउने अनुभूतिहरू अटाएका यी कविता नेपाली साहित्यका लागि विशेष प्राप्ति हुन् । यस विषयका कविताको सानो अंश प्रस्तुत गरेको छु ः
म हाम्रो जातपातको कुरो गर्छु
छुवाछुतको कुरो गर्छु
उ अचम्म पर्छ र सोध्छ
तँ कसरी मान्छे मान्छेमा
फरक देख्छस् भन्छ
म यस्तै हो भन्छु
उ कुरो बुझ्दैन ।
(म र मेरो सहकर्मी केटो)
प्रकृतिको परिधि अनन्त छ भने सौन्दर्यको फैलाई अज्ञात छ साथै प्रेमको उचाई उडानले नसमेट्ने छ भन्ने भावना जगाउँदै उत्कृष्ट जीवन बृत्तिको परिकल्पनामा आएका कविताहरू यस कृतिका अत्युत्तम प्राप्ति हुन् । कविता लेखन भित्र अत्युत्तम उचाईका रुपमा लिइने प्रेमका कविता एवं सोही हाराहारीमा आउने प्रकृति बणनका कविता कुनै काल खण्डमा पनि नमर्ने अजर अमर रचना हुन् । जीवन र जगतमा प्रेम र सौन्दर्य पोखिँदा कविले प्रयोग गरेका बिम्ब एवं प्रतीक भित्र कतै उहाँ स्वयं साटिनु भएको छ भने
कतै त्यहाँ कोरिएका चित्रमा मानव समाज कुँदिएको छ । यो भावनाका कविताहरूमा सागर आफैँ लाश भएर हेर्दा, स्टेफिन हकीङ, सूर्य, मेरो बा, तिम्रो कविता, प्रिय, माया, प्रकृति, मेरी प्रिय, यो कसको सरकार, चाहना, रहर आदि कविता रहेका छन् । यस्ता किसिमका कविताको एउटा उदाहरण हेरौँ –
म दोधारमा छु
शहरमा ठडिँदै गरेको
सम्पन्नताको कविता लेखौँ कि
शहरमा मासिँदै गरेको
समवेदनाको कविता लेखौँ
शहरको भव्यतामा लेखौँ कि
शहरको क्रुरताको कविता लेखौँ । (रहर)
बाङ्गा कविता पनि यस समाज माथि उठाइएका चोटिला प्रश्न हुन् । कतै विकृति र विसङ्गतिको प्रवृत्ति हामी सबैमा रहेको छ भन्न रुचाउँछन् भने कतै परिवारभित्र यस्तो अवस्था देख्दछन् । साथै समाज, राजनीति, व्यापार, व्यवसाय आदि यत्र तत्र सर्वत्र यस्तो छ र यसलाई हटाउनु पर्छ भन्दै ब्यङ्गको
झटारो हानिएको छ । ती कविताहरूमा आफ्नै कुरो, मपाईँ, आउ बुढी बार्ता गरौँ, नेता, हत्तेरिका बुढी, हे नेपाल र आफ्नै डम्फु गरी ७ वटा कविता रहेका छन् । यी कविताहरूमा हिजो म के थिएँ र आज के भएँ कहाँ पुगेको छु भनी आफैँलाई ब्यङ्ग गर्ने गरेका छन् । साथै मपाईँत्वले मानवीय मूल्य र मान्यता ह्रास आएको कुरा उजागर गरी दिएको छ । नेता कवितामा कथनी र करनीमा रहेको भिन्नता उजागर गरेको छ भने यहाँ देखिएका धेरै कुरा जे देखिन्छन् त्यो होइनन् भन्ने ठम्याई रहेको छ । हे नेपाल शीर्षकको कविताको सानो अंश यहाँ प्रस्तुत गरेको छु ः
मेहनत गरे
सुनै सुन फल्ने स्वर्ग
नेपाल साँच्चै
छोडिसक्नु छैन
हो .. ..
नेपाल बसौँ त बसिसक्नु छैन
नेपाल छाडौँ त छाडिसक्नु छैन । (हे नेपाल)
समग्रमा म बुध्द भएर जन्मन चाहन्छु भित्रका कविता जीवन भोगाईले जन्मेका अनुभवको कसौटीमा खारिएका कविता हुन्।यहाँ प्रचुर आशावादिता छ । विशिष्ट रुपमा प्रकृति र प्रेम सौन्दर्यको पूजा छ । देश भोगेर विदेश फैलिँदै बाँचेका छन्, विकृति र विसङ्गति माथि डण्डा चलाई नाचेका छन्, अनि यथार्थ समाजमा उभिएका छन् । बिग्रएकोमा रोएका छन् अनि सपार्नलाई पटक पटक धोएका छन् । कविता पढ्दा कविसँगै पाठक पनि उकाली ओराली छिचोल्न देश विदे नियाल्न नराम्रा गतिविधिलाई हिर्काउन र आशाका विरुवा हुर्काउन पाउने भएका छन् । यसैगरी निरन्तर रुपमा समाज माथि विहंगम दृष्टि लगाएका थप कृतिहरू नेपाली साहित्य क्षेत्रले पाउने आशा राख्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक