पहाडको गीत : राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २०।
पहाडी भूमी, समृद्ध हुन्छ, प्रकृति धनले
डाँडा र काँडा, झर्ना र नदी, सल्लेरी बनले
पहाडी जन, निस्छल मन, मुहार हँसिलो
अथक श्रमी, पौरखी जात, स्वभाव जोसिलो
लेकमा बसी, गाउँछु गीत, पहाडी कथाको
रिति र थिती, दुःख र सुख, पीडा र ब्यथाको
बाजे र बज्यै, आराम गर्दै, गुन्द्रीमा बसेर
घाममा बसी, तोरीको तेल, जिउमा घसेर
बाकटे कोट, भिरेर बाजे, परे है चिटिक्क
केशको लट्टा, थाक्रोले फोडी, बज्यै त रिमिक्क
सारंगी रेट्दै, सवाई भन्छु, बिकट ठाउँको
यस्तै छ साथी, दैनिकी हाम्रो, पहाडी गाउँको
बाबु र आमा, घाँसको भारी, लिएर साँझमा
फतक्कै थाकी, थचक्कै बसे, पिंढीको माझमा
बबुरो म त, गएर बसें, आमाको काखमा
काँधमा बसी, घुम्न हिंडेथें, बाबुको साथमा
त्यो बालापन, निश्चिन्त पल, खुशीको जुहार
फर्काऊ प्रभु, मेरो अतित, छ मेरो गुहार
कमेरे भित्ता, रात्माटे पेटी, गाउँले घरको
मन्दिर तुल्य, झुपडी मेरो, छानो छ खरको
पिँढीमा ढिकी, जाँतो छ ढुङ्गे, बाजेको पालाको
पहाडी ठाउँको, चलन हाम्रो, पुरानो चालाको
कान्ला कन्धरा, खनी खोस्रेर, अनाज छरौंला
यहीं म जन्मे, यसैमा हुर्कें, यसैमा मरौंला
गाईको दूध, दोएर ल्याई, कुँडेमा हालेर
अगेनो माथी, ओदान राखी, दाउरा बालेर
उमाली भरें, टोलङ ठेकी, मदानी घरर
निकाली नौनी, पिएर मोही, मन भो हरर
घाँसको भारी, थाप्लोमा बोकी, खुकुरी दापमा
पहाडी बाटो, चिप्लिदै हिड्छु, घामको रापमा
पित्ले छ टुकी, धिप्धिप गर्ने, पुर्खाको निशानी
पखेरो जोत्छु, पसिना झारी, दिल छ किशानी
तामाको गाग्री, फलामे खुर्पा, अम्खोरा काँसको
गाईको गोठ, टाटीको बेरा, खाँबो छ बाँसको
लेकाली तन, बेँसीमा झर्यो, हिउँद मासमा
गाउँले मन, कान्छीमा प¥यो, प्रितीको आसमा
बिनायो बज्यो, मुर्चुङ्गा सँगै, डम्फुको तालमा
त्यो रोधिघर, गएर गाँठे, परियो जालमा
सारंगी ताल, माल्सिरी धुन, मादलु घनन
नौमती सँगै, मारुनी नाचौं, घुमेर फनन
संस्कृति आफ्नो, जोगाई राखौं, अमूल्य सम्पदा
इज्जत हाम्रो, चुलिई जान्छ, विश्वमा चम्कदा
पेचामा तोरी, हालेर पेल्दा, कोलमा घरर
तेलको धारा, बग्न पो थाल्यो, बासना हरर
ढिकीमा च्युरा, कुटेर खाँदा, आनन्द अतुल्य
हर्पेको दही, ढुंग्रोको खैपी, स्वादमा अमुल्य
स्वर्णिम पल, खुशीका भल, बगेर गए ती
ती बालापन, खहरे सरी, बहेर गए ती
गुन्यू र चोली, सुर्कने थैली, लाछा छ बालमा
लेकाली परी, बेंसीमा झरी, हरिणी चालमा
ढाकाली टोपी, खद्दरे दौरालाई म चिटिक्क
हेरेर बसें, परीको बाटो, नगरी झिमिक्क
बैंशालु तन, अधिर मन, चाहना प्रितको
यस्तै छ साथी, भाव र धुन, पहाडी गीतको
झ्याउरे छन्द, आत्मिय गन्ध, मौलिक पाराको
पहाडी गीत, सम्पदा हाम्रो, नेपाली साराको
पाखोमा बस्छु, पखेरो डुल्छु, जिउँछु शानले
पौरखी हात, बज्र झैँ छाती, उचो छु मानले
गँवार सही, पाखे नै सही, यस्तै छ हालत
श्रमको पूजा, श्रम इश्वर, श्रम नै दौलत
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक