प्रदेशसभा बैठकमा नरोत्तम वैद्यले गरे आत्मालोचना
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २९।
नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन्।
उनले शनिबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै वैद्यले शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै माफी मागेका हुन् ।
शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए। नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।
शनिवार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए।