कागेश्वरी मनोहरा नगरपालिकामा माइकिङ गरि कोभिड -१९ विरुद्ध जनचेतना जगाउदै नेपाल स्काउट
कपन अनलाइन
काठमाडौं ,जेठ २७ ।नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको कागेश्वरी ओपन स्काउट क्रयू ले कागेश्वरी मनोहरा नगरपालिकामा कोभिड -१९ विरुद्ध जनचेतनामुलक अभियान शुरु गरेको छ । कोरोना विरुद्ध लड्न स्वास्थ्यका मापदण्डहरुको पुर्ण पालना गर्न र गराउन माइकिंग गर्दै कागेश्वरीका बिभिन्न टोलमा जनचेतना जगाउदै आएको छ ।
गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा देशव्यापीरुपमा एसएमएस अभियानलाई अहिले परिमामर्जनसहित निरन्तरता दिएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाका खोप केन्द्रमा नेपाल स्काउटले सहजीकरण गरिरहेको छ । नेपालमा हाल करिव ६४ हजार स्काउट सदस्य छन् ।व्यक्तिको चारित्रिक तथा व्यक्तित्व विकासका लागि स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । युवाहरुमा नेतृत्व विकास, विपत्त व्यवस्थापन, सामाजिक सेवा र राष्ट्रप्रेम जगाउन स्काउटले विभिन्न खालका तालिमहरू प्रदान गर्दै आएको छ ।मुलुकका लागि आवश्यक सहयोगी युवाशक्ति निर्माणका लागि, विपत्तीमा सहयोग गर्नसक्ने सहयोगी युवाहरू उत्पादनका लागि र समाज विकासका लागि स्काउटले सहयोग गर्ने लक्ष्य राखेको छ ।