नेपाली कांग्रेस काठमाण्डौ -४ का सभापति राजु श्रेष्ठको निशानामा मार्क्सीय गुरुकुलको जमिन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १८।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठले बुढानिलकण्ठ नगरपालिकालाई खेलकुदको केन्द्र बनाउन चाहिने आवस्यक पूर्वाधारका लागि वडा नं ८ मा रहेको मार्क्सीय गुरुकुलको जमिन उपयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन।
बुढानिलकण्ठ नगरपालिकामा खेलकुदको विकासको सम्भावना प्रचुर रहेको पटक पटक बताउदै आएका श्रेष्ठले एक अनलाइनमा लेख लेख्दै नगरपालिकाका अन्य सार्वजनिक जमिन संगै करिव ७३ रोपनी क्षेत्रफल रहेको मार्क्सीय गुरुकुललाई दिएको जमिन प्रयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन।
श्रेष्ठले सो लेखमा हाल वडा नं ८ का वडाध्यक्ष , एन्फा अध्यक्ष सहितको सहयोगमा मार्क्सेली गुरूकुलकाे भवन बनाउन राेक लगाउन सफल भएको बताउदै उक्त जमिनमा फुटबल मैदान, ट्रयाक एन्ड फिल्ड, बास्केटबल, भलिबल, ब्याडमिन्टनलगायत बिबिध खेलहरू खेल्न सकिने बहुआयामिक कबर्ड हल बनाउनु पर्ने योजना अगाडी सारेका छन।
सो जमिनमा राेपनी जमिनमा आफ्नै खर्चमा जेसिभी प्रयाेग गरेर बहुआयामिक खेलमैदान बनाउन नगरपालिका संग माग गरेको ५ वर्ष भएको भन्दै उनले निर्वाचित स्थानीय सरकारले याे विषयमा गम्भीरताका साथ लिनुपर्ने बताएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको सो सार्वजनिक जमिनलाई डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले मार्क्सवाद र अन्य दार्शनिक अध्यन अनुसन्धानका लागि बहुआयामिक पूर्वाधार सहित गुरुकुल निर्माणका लागि भन्दै मन्त्रिपरिषदको निर्णय बाट मार्क्सीय गुरुकुल नामक संस्थालाई भोगचलनका लागि दिएको थियो।
सरकारले सो निर्णय गरे संगै शुरु भएको स्थानीय हरुको विरोध र अन्य विविध कारणले गर्दा हालसम्म सो स्थानमा गुरुकुलले कुनैपनि संरचना निर्माण तथा अन्य गतिविधिहरु गरेको छैन।
नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समय सम्म सक्रिय रहेका स्वनाम साथी संस्थापक अध्यक्ष रहेको सो गुरुकुलको नेतृत्व उनको निधन पछि पुर्व प्रधानमन्त्री झलनाथ खनालले गरिरहेका छन।