खोप खरिदमा सहजीकरणका लागि रुसी राष्ट्रपति भ्यादमिर पुटिनलाई राष्ट्रपति भण्डारीको पत्राचार
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६।
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छिन् ।
राष्ट्रपति भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति पुटिनलाई पनि पत्राचार गरेकी हुन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पत्र गत शुक्रबार नै दूतावासलाई उपलब्ध गराइएको छ । राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि अनुरोध गरेकी छन् ।
यसअघि राष्ट्रपति भण्डारीले सुरुमा जेठ १२ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई खोप सहयोग गर्न आग्रह गर्दै पत्राचार गरेकी थिइन् ।
त्यसपछि उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग खोप खरिदमा सहजीकरण गरिदिनका लागि अनुरोध गर्दै टेलिफोन वार्ता गरे लगत्तै चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएका थिए ।
राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पनि पत्र पठाएर नेपाललाई खोप सहयोगको लागि अनुरोध गरेकी थिइन् ।