ज्येष्ठ नागरिकहरुका सवाल व्यवस्थापन : कुमार पोखरेल ( पुस्तक परिचय )

ज्येष्ठ नागरिकहरुका सवाल व्यवस्थापन : कुमार पोखरेल ( पुस्तक परिचय )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

बिराट् सामुदायिक विकास केन्द्र, बिराटनगर हाल बुढानीलकण्ठ नगरपालिका –९ सिर्जनाटोल, काठमाडौंले नववर्ष वि.सं. २०७८ बैशाख १ गतेको शुभसाइतमा प्रकाशित गरेको ज्येष्ठ नागरिकहरुका सवाल र व्यवस्थापन सम्बन्धी पुस्तक ,सम्पादक मण्डलमा रहनु भएका आत्मिय भाइ श्री प्रमोद कुमार पोखरेलबाट प्राप्त भयो ।
सो पुस्तकमा विभिन्न क्षेत्रमा ख्याति कमाएका विद्वान विदुषीहरुका लेखरचना रहेका छन् । हाम्रो देशको कानुन अनुसार ६० बर्ष उमेर पुगेका व्यक्तिहरू सबैलाई ज्येष्ठ नागरिकको परिभाषामा समेटीएको छ । यस्ता ज्येष्ठ नागरिकहरूको दैनिक जीवनमा आईपरेका भोगाईका जल्दाबल्दा समस्या र सोको निदानका निम्ति समाजले औल्याएका चुनौतिका बिषयमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट समेत विभिन्न समयमा निर्माण भएका नीति, नियम, ऐन, कानुन, सन्धी, महासन्धी, सम्झौता, घोषणापत्र, कार्ययोजनाका साथै यु. एन.ले प्रतिपादन गरेका सिध्दान्तहरूलाई लिपिबद्ध गरि लेखरचनाका आधारमा नौ अध्यायमा वर्गिकरण गरिएको छ ।
प्रस्तुत लेख रचनाले हाम्रो समाजमा रहेका बृद्धबृद्धाहरूले दैनिक जीवनमा भोग्नु परेका पारिवारीक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक समस्याहरूलाई उजागर गर्दै समाधानको उपाय समेत बडो सरलढंगले व्याख्या गरेको छ । जो यसप्रकार छ ।
अध्याय १ – यस पुस्तकको अवधारणाकार एबं प्रमुख सम्पादन संयोजन तथा विराट् सामुदायिक बिकास केन्द्र मोरङ्का अध्यक्ष र पौरखी इष्टिच्यूट प्रा.लि.का प्रबन्ध निर्देशक श्री प्रकाशकुमार पोखरेलज्यूले बिषय प्रवेशको भूमिकामा संक्षिप्त जानकारी दिदै राष्ट्रले अबलम्बन गरेको समृध्द नेपाल, सुखी नेपालीको अवधारणालाई साकार पार्न दिगो बिकासको माध्यमबाट मुलुकले चौतर्फि बिकास गर्ने लक्ष्य लिएको कुरालाई प्रस्तुत गर्नु भएको छ ।

दिगो बिकासको मेरूडण्ड र चोटिलो सामाजिक सूचकाङ्कका रूपमा रहदै आएका ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूका जल्दाबल्दा सवालका अवयवहरूलाई समाज र राज्यले दीर्घकालीनरूपमा बिकास गर्ने लक्ष्य राखेको पाईन्छ । संघीय गणतन्त्र नेपालको संविधानमा मौलिक हकको अतिरिक्त ज्येष्ठ नागरिकहरूका निम्ति छुट्टै धारा ४१ मा व्यबस्था गरी बृध्दबृध्दा सम्बन्धी हेर्ने महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय स्थापना गरेको छ ।

यसै मातहत रहेर नेपाल सरकारले निर्दिष्ट गरेको ज्येष्ठ नागरिक सम्बन्धी नीति, ऐन नियमहरूको कार्यान्वयन, मानव अधिकार सम्बन्धी विश्वव्यापी अवधारणाले सुनिश्चित गरेको भेदभावरहित बाच्न पाउने अधिकारलाई संयुक्त राष्ट्र संघले आफ्नो कार्ययोजनामा तर्जुमा गरी मानव अधिकारका सिध्दान्त र मुल्यमान्यताका आधारमा सम्मानपूर्वक जीवनयापन गर्न पाउने नैसर्गिक अधिकारको प्रत्याभूत गरेको छ । बिभिन्न समयमा लागू गरिएका राजनैतिक , सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको अनुबन्धन गरी कार्यान्वयन
गर्ने नीतिको अतिरिक्त म्या ड्रिड तथा मकाउ कार्ययोजनाको विश्लेषण गरी नेपालको सन्दर्भमा ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना र पञ्चवर्षीय योजनाले परिलक्षित गरेका अबधारणाहरुको शुक्ष्म तरिकाले विश्लेषण र व्याख्या गर्नु भएको छ । अन्य अध्यायमा बिभिन्न विद्वानहरूका लेख रचना र दस्तावेजहरू समावेश भएका छन ।
अध्याय २ – मा ज्येष्ठ नागरिकहरूका सन्दर्भमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशको बुदागतरूपमा मुल्याङ्कन गरी सोको अध्ययन तथा विश्लेषण भएको छ ।
अध्याय ३ – मा ज्येष्ठ नागरिकको परिभाषा, अवस्थाका बारेमा सुक्ष्मरुपले व्याख्या गरिएको छ ।
अध्याय ४ – मा ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्य, बुढ्यौली , खानपान र शारीरिक स्वास्थ्यका विषयमा उठान भएका जल्दाबल्दा समस्या र सोको निदानको उपाय प्रस्तुत गरीएको छ।
अध्याय ५ – मा ज्येष्ठ नागरिकहरूको सक्रिय बुढ्यौली र आर्थिक व्यवस्थापनका बिषयमा राज्यव्दारा प्रदत्त नीतिनियम, ऐनकानुन र त्यसको कार्यान्वयन सम्बन्धमा विवेचना गरिएको छ ।
अध्याय ६– मा ज्येष्ठ नागरिकहरूको सवाल, आश्रम , डे केयर सेण्टर र भोगाईका अनुभूतिहरूलाइ रोचक तथा यथार्थपरक ढंगले विश्लेषण गरिएको छ ।
अध्याय ७– मा ज्येष्ठ नागरिकहरू सम्बन्धी कानून र समावेशिताका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धि सम्झौताका बिषयमा चर्चा गरिएको छ ।
अध्याय ८– मा ज्येष्ठ नागरिकहरूको जीवनी, अनुभव, अनुभूतिहरूलाई यथार्थको कसीमा ढाली रोचक जानकारीहरू पेश गरिएको छ ।
– अध्याय ९ मा पुस्तक प्रकाशक, वितरक र संस्था परिचयका बारेमा उल्लेख गरिएको छ ।
प्रस्तुत पुस्तकमा मानव सभ्यताको उदीयमान मेरूडण्डको रूपमा रहेका, व्यवहारिक शीप ज्ञान र अनुभवले खारिएका, समाजका अमुल्यनले जीवनयापनका क्रममा भए गरेका र वर्तमान अवस्थामा ज्येष्ठ नागरिकहरूले भोग्नुपरेको अनगिन्ति भोगाइका समस्याहरूलाई उजागर गरेको छ । आजको कोलाहलमय वातावरण, उर्लदो जनसङ्ख्याकोचाप, बढदो सामाजिक चुनौति, बजारीकरण, मोलमोलाई, सौदागिरी, उपभोक्ताबाद, वेफुर्सदी, भागाभाग, दौडादौड, सिने र पश्चिमी सभ्यताले आक्रान्त बनाएको व्यस्टिवादी समाज, कृतिम मायाप्रेम र पुस्तान्तरणका कारण दैनिक जीवनमा ज्येष्ठ नागरिकहरूले जुझ्दै आएका भोगाईका यथार्थलाई जल्दोबल्दो समस्याको रूपमा प्रस्तुत गरी सोको समाधानका निम्ति व्यक्ति, समाज र राज्यको कर्तव्य एबं दायित्वको बारेमा छुट्टाछुट्टै विवेचना र व्याख्या गरिएकोछ । ज्येष्ठ नागरिकहरूका सन्दर्भमा कामगर्ने राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका संघसंस्था र विश्वव्यापि मानव अधिकारबादी संस्थाहरूले अवलम्बन गरेका प्राकृतिक र कानुनी अधिकारका साथै स्वतन्त्रता, समानता र मर्यादाको उपभोग गर्न पाउनु पर्ने उपाय पहिचान गरी यथार्थपरक ढंङ्गले सुझाबहरू समेत दिईएकोछ ।
ज्येष्ठ नागरिकहरूको अबस्था, स्वास्थ्य, सिप, ज्ञान, अनुभव, विचार , कानुनी प्रबन्ध, सरसुविधा, हेरचाह र व्यवस्थापनका बिषयमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वाङ्ममय शताब्दीपुरूष एवं संस्कृतविद् सत्यमोहन जोशीले समेत शुभकामना मन्तव्य दिनु भएको छ । यसमा समेटिएका अन्य लेखरचनाहरू बिभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति, व्यक्तित्व, विज्ञ ,सामाजिक अभियन्ता, शैक्षिक तथा सामाजिक संघसंस्थाका सदस्य प्रतिनिधि, शिक्षाविद्, कानुनव्यबसायी, योजनाविद्, विश्लेषक, आफ्नो क्षेत्रमा ख्याति कमाएका प्रतिष्ठित विद्वत्वर्ग, प्रचुरमात्रामा ज्ञान, सिप र अनुभवले खारिएका राजनीतिकर्मी, रङ्गकर्मी, सञ्चार तथा सुरक्षाक्षेत्रका वरिष्ठ व्यक्तित्व, राज्य सञ्चालनका विभिन्न तहतप्कामा बसी लामो अनुभव सम्हालेका पदाधिकारी, परराष्ट्र एवं कुटनीति नियोगमा बसेर देशविदेशको अनुभव बटुलेका पूर्वप्रशासक एबं कर्मचारी, युवाबर्ग, विद्यालय तथा महाविद्यालयका शिक्षक र प्राचार्यवर्ग, साहित्यकार, लेखक, आध्यात्मिक चिन्तक, सांस्कृतिविद् एवं क्षेत्रगत ख्याति कमाएका विद्वान विदुषीहरू समेत गरी ९७ जना सिद्धहस्त लेखकहरूका लेखरचना र दस्तावेजहरू ९२१ पृष्ठमा संग्रहित भएकाछन । यसमा उल्लेख गरिएका लेख रचनाहरूलाई अंग्रेजी लगायत अन्य भाषामा उल्था गरी पुस्तकको रूपमा प्रस्तुत गर्न सके ज्येष्ठ नागरिकहरूको निम्ति कामगर्ने राष्ट्रिय निकायहरूकोअतिरिक्त अन्तराष्ट्रियस्तरका संघसंस्थाका साथै संयुक्त राष्ट्र संघ, मानव अधिकारवादी संस्थाको लागि र विश्वव्यापी महासन्धी सम्झौताहरू निर्माण र कार्यान्वयन गर्नमा यसले अहम् भूमिका खेल्ने कुरामा २ मत हुन सक्तैन ।
अन्तमा, प्रस्तुत पुस्तक सरल नेपाली भाषामा लेखिएको छ । ज्येष्ठ नागरिकहरूको जल्दाबल्दा समस्या र त्यसकोसमाधानको उपाय समेत उजागर गरिएकाले एक पटक सबैले पढन उपयुक्त ठान्दछु । बिषयबस्तुको छनोट समय सान्दर्भिक छ । विभिन्न क्षेत्रका विशिष्ठ विद्वानहरूलाई एक ठाउमा उभ्याउनु सक्नु सम्पादक मण्डलको भूमिका अतुलनीय रहेको छ । शुध्दाशुध्दिमा कार्य गर्ने विद्वान वर्गले अझबढी दिलोज्यानले ध्यान दिनु पर्ने देखिन्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।