जनताका सवालहरुमा कमरेड मदनले प्रस्तुत गरेका दृष्टिकोणहरु आज पनि उत्तिकै सान्दर्भिक छन : मुख्यमन्त्री डोरमणि पौडेल
कपन अनलाइन
हेटौडा ,जेष्ठ ३।
बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले कमरेड मदन भण्डारीले उठाएका जनताका जीवन्त सवालहरुमा प्रस्तुत गरेका दृष्टिकोणहरु आज पनि उतिक्कै सान्दर्भिक रहेको बताएका छन।
नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा कमरेड मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले कम्युनिष्ट आन्दोलनभित्र भिन्नै खाले प्रयोगहरुमा विश्वास गर्ने राजनीतिक पार्टिहरुले समेत जनताको बहुदलिय जनवादको अन्तर्यलाई आत्मसात गर्दै अघि बढेको धारणा राखेका छन।
मुख्यमन्त्री पौडेलको सन्देस :
नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको सन्दर्भमा देश र जनताको हितको लागि उहाँहरुले पुर्याउनुभएको अमुल्य योगदानको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछु ।
वि. सं २०५० साल जेठ ३ गते पोखराबाट फर्कनेक्रममा चितवनको दासढुङगामा रहस्यमय जीप दुर्घटनाबाट उहाँहरुको मृत्यु भएको थियो । विश्व कम्युनिष्ट आन्दोलनले एकपछि अर्को धक्का बेहोर्नुपरेको तत्कालिन समयमा जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादको आलोकमा नेपाली कम्युनिष्ट आन्दोलन जनताको मन र विश्वास जितेर उचाईको पुग्दै थियो ।
कम्युनिष्ट आन्दोलनलाई शास्त्रको जडताबाट मुक्त गरी जीवन र ब्यवहार संगै जोड्दै जबज मार्फत नेपाली क्रान्तिको मौलिक मोडल प्रस्तुत गर्नुभएका जननेता भण्डारीलाई अमेरिकाबाट प्रकाशित “न्युज विक” पत्रिकाले नेपालको कार्ल मार्क्स कोरुपमा चित्रित गरेको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिककरण गर्ने मात्र होईन, जनताका जीवन्त सवालहरुमा उहाँले प्रस्तुत गर्नु भएको दृष्टिकोणहरु आज पनि उत्तिकै सान्दर्भिक छ । कम्युनिष्ट आन्दोलनभित्र भिन्नै खाले प्रयोगहरुमा विश्वास गर्ने राजनीतिक पार्टिहरुले समेत जनताको बहुदलिय जनवादको अन्तर्यलाई आत्मसात गर्दै अघि बढेको देखिन्छ । यसले जबजको सच्चाई र सान्दर्भिकतालाई पुष्टि गर्छ ।
जनताको प्रिय नेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको रहस्यमय जीप दुर्घटनाबाट नेपाली कम्युनिष्ट आन्दोलनले अपुरणीय क्षति ब्यवहोर्नुपरेको थियो । आज जननेता भण्डारी त हामी माझ हुनुहुन्न तर उहाँबाट प्रतिपादित जबजले हामी सबैलाई मार्गदर्शन गरिरहेको छ । कुशल संगठक आश्रित त हामीसंग हुनुहुन्न तर जनतामा आधारित बलियो संगठानिक आधार, जनताको भरोसा र प्रतिबद्ध कार्यकर्ताहरु भएको पार्टि नेकपा एमाले जीवन्त छ । यसर्थ जबजको आलोकमा समृद्धि नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न पार्टिको सम्पुर्ण शक्ति केन्द्रीकृत गर्न सक्दा आउने सकारात्मक परिणामले नेपाली कम्युनिष्ट आन्दोलनलाई थप बलियो र भरोसायोग्य बनाउनेछ । गुटफुट होईन, एकताबद्ध, बलियो र भरोसा योग्य कम्युनिष्ट आन्दोलनबाट मात्र जननेता भण्डारी र कुशल संगठन आश्रितले देख्नुभएको सपना पुरा गर्न सकिन्छ । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको सन्दर्भमा उहाँहरुले देखाउनुभएको बाटोमा अविराम लागिरहने प्रतिबद्धता सहित पुनः हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछु ।
तपाइँको प्रतिक्रिया ।