मिठाइ खाए हुन्छ तर लड्डू चाहिँ नखानू : प्रधानमन्त्री केपी ओली
कपन अनलाइन
काठमाडौँ, बैशाख २७।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घटना भएको भन्दै यसमा क्षमा हुन नसक्ने बताएका छन् ।
विश्वासको मत नपाए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले २८ जना एमाले सांसद अनुपस्थित भएको घटनाको जति निन्दा गरे पनि नपुग्ने बताएका हुन् ।
ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले ने भने- आफ्नै सांसदले ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु गद्दारी हो, यस्ताको जति निन्दा गरे पनि पुग्दैन । यसबारेमा पार्टीले निर्णय लिन्छ ।
बैठकमा प्रधानमन्त्री अझै पनि आफ्नो रोडम्यापमै मुलुकको राजनीति अघि बढ्यने विश्वस्त देखिएको ती मन्त्रीले बताए । ‘मैले जे गर्न खोजेको हो त्यसै भइरहेकै छ, केही चिन्ता छैन मिठाइ खाए हुन्छ तर लड्डू चाहिँ नखानू’ ओलीले मन्त्रीहरुलाई भने ।
प्रधानमन्त्रीले जुन प्रयोजनको लागि संसद बैठक बोलाइएको हो त्यसको काम सकिएपछि अधिवेशन अन्त गर्ने प्रस्ताव बैठकमा सुनाएका थिए । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास गएका छन् । समाचार साभार :नेपाल प्रेस