‘विदेशीको पैसामा जाति जनजाति लडाउँदै’ !
कपन अनलाइन\पुस २५, २०७१
उद्योगमन्त्री तथा एमाले नेता महेश बस्नेतले म्याग्दी महोत्सवको उद्घाटन समारोहमा बोल्दै क्षेत्री—बाहुन र जनजातिबीच झगडा गराउन बाह्य तत्व लागिपरेको बताएका छन् ।
जातजाति एवं पहाडी र मधेशी भन्दै झगडा निम्ताउन विदेशी शक्तिहरूले पैसाको खोलो बगाएको बताएका मन्त्री बस्नेतले अब भने सम्पूर्ण नेपाली एक भएर जानुपर्ने बताएका थिए । बाह्य शक्तिको इशारामा चलेर नेपालीहरूकै बीचमा मतभेद भयो भने देश ठूलो संकटमा पर्ने संकेत गर्दै मन्त्री बस्नेतले नेपाललाई अखण्ड राष्ट्र बनाउन सबै पक्ष लाग्नुपर्ने जिकिर गरेका थिए ।
महोत्सवमा बोल्दै बस्नेतले केपी ओलीको अभिव्यक्ति कुनै जातजातिविशेषको नभई देशको एकताका लागि भएको हुँदा यसलाई नकारात्मक रुपमा हेर्न नहुने बताएका थिए । यस विषयमा थप बोल्दै उनले केपी ओलीले वार्ता भाँड्ने कुनै कार्य नगरेको स्पष्ट पारेका थिए ।