हाम्रो सम्मान परियोजना अन्तर्गत ‘विश्वास नेपाल’ को फोटोग्राफी तालिम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६।
हाम्रो सम्मान परियोजना अन्तरगत एकदिने फोटोग्राफी तालिम प्रदान गरिएको छ ।मनोरञ्जन तथा सत्कारको क्षेत्रमा कार्यरत श्रमिकको हक अधिकारका लागि काम गर्ने संस्था ‘विश्वास नेपाल’ का बोर्ड सदस्यलगायत संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने पन्ध्रजनाका लागि उक्त तालिम प्रदान गरिएको हो ।
प्रशिक्षकद्वय कविता थापा र प्रतिकराज कार्कीले फोटोग्राफी सम्वन्धी आधारभूत तालिम प्रदान गरेको उक्त प्रशिक्षण कार्यक्रममा विश्वास नेपालका अध्यक्ष तारा भण्डारी,कार्यकारी निर्देशक बालमाया आले, प्रोजेक्ट संयोजक विवेक शर्मा, मनोपरामर्शदाता रजनी खड्गी, रसना ढकाल, सविना पन्त, कान्छीमाया तामाङ,समुन्द्र बानिया, विष्णु पनेरु,शान्ति दाहाल, एन्जेलिया शाक्यलगायतका १५ जना सहभागी भएका थिए।
विश्वास नेपालले दोहोरी रेष्टुरेन्ट, डान्सबार, पव, मसाज पार्लरलगायतका रात्रीकालिन व्यवसायमा काम गर्ने श्रमिकको कानुनी हक, पेशागत सुरक्षा र दुव्र्यव्यवहारबाट बच्नका लागि त्यहाँ कार्यरत श्रमिकलाई तालिम, परामर्श प्रदान गर्दै आएको छ ।
यस क्षेत्रका श्रमिकलाई सङ्गठित बनाउने, पेशालाई मर्यादित बनाउन श्रमिक र सञ्चालक दुबै थरीलाई जोखिम र अवसर र दायित्वबारे पनि बुझाउने काम विश्वास नेपालले गर्दछ । साथै कार्यक्षेत्रमा हुने हिंसाबाट प्रभावितका लागि पनि परामर्श र सक्दो सहयोग समेत प्रदान गर्दै आएको अध्यक्ष तारा भण्डारीले बताएकी छन ।
विश्वास नेपालका कार्यकारी निर्देशक बालमाया आलेले यस क्षेत्रमा काम गर्ने प्रायः महिला, किशोरी पेशागत सुरक्षा र पर्न सक्ने जोखिमको बारेमा जानकारी नराख्दा समस्यामा पर्ने गरेको अनुभव सुनाएकी थिइन् ।