उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसलको उपाधि माउन्ट ग्लोरीलाई

उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसलको उपाधि माउन्ट ग्लोरीलाई
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २१।

माउन्ट ग्लोरीले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
बल्खुको मदननगरस्थित आयोजक भिजनोभा रिक्रिएसन सेन्टरमा भएको फाइनल सरहको खेलमा माउन्ट ग्लोरीले विश्वनिकेतनलाई ३–१ गोलले पराजित गर्यो  । विजेताका एलेक्स पौडेलले २ तथा सञ्जय स्याङ्तानले १ गोल गरे । विश्वनिकेतनबाट विकेश शाहीले सान्त्वना गोल फर्काए ।
प्रतियोगितामा सहभागी २४ टिम मध्ये शीर्ष तीन टोलीलाई राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराई विजेताको टुंगो लगाइएको थियो । त्यसमा माउन्ट ग्लोरी शत प्रतिशत जितका साथ ६ अंक जोड्दै च्याम्पियन बनेको हो । त्यसअघि माउन्ट ग्लोरीले ब्राइट फ्युचरलाई ८–० को फराकिलो गोलअन्तरले हराएको थियो ।

दोश्रो भएको विश्वनिकेतनले ब्राइट फ्युचरलाई ४–० ले पन्छायो । विश्वनिकेतनले ३ अंक जोड्यो । ब्राइट फ्युचरले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विश्वनिकेतका विकेश शाही उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिता अवधिभर १६ गोल गरेका विश्वनिकेतनकै अनिल नगरकोटी सर्वाधिक गोलकर्ता बने । माउन्ट ग्लोरीका पेम्बा नोर्बु भोटे उत्कृष्ट गोलरक्षक घोषित भए । एसियाली तारा पुञ्जका विश्वास सुनुवार उदीयमान खेलाडी बने । एसियालीनै अनुशासित टिम ठहरियो । एसियालीले २ हजार ५ सय नगद पुरस्कार हात पा¥यो ।
विजेतालाई बागमती प्रदेश सांसद् डा. अजय क्रान्ति शाक्य, अखिल नेपाल फुटबल संघका सह–महासचिव मोहनबहादुर बस्नेत, आयोजक भिजनोभाका अध्यक्ष रामकृष्ण तण्डुकारलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तपाइँको प्रतिक्रिया ।