श्री तेर्से मावि मेलम्ची नगरपालिका वडा नं ६ को ३० औं वार्षिकोत्सव सम्पन्न
कपन अनलाइन
सिन्धुपाल्चोक ,माघ २६/दिपक विक्रम देउजा
मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३० औं वार्षिक उत्सव सम्पन्न गरेको छ । बि. सं.२०४७ साल माघ २५ गते स्थानीय समाजसेवी टकबहादुर देउजाको अध्यक्षतामा कोलेचौरमा समुदायको पहिलो भेला आयोजना गरी स्थापित विद्यालयको हरेक वर्ष झैं यस वर्ष पनि बिबिध कार्यक्रमका साथ वार्षिकोत्सव सम्पन्न भएको हो । मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष श्री जीतराज थापा, पूर्व वि.व्य.स. अध्यक्ष श्री लोकबहादुर देउजा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथी अर्यालले विद्यालयले आफ्नो शैक्षिक स्तरलाई माथी उकास्न गरेको प्रयत्न र अभिभावकमा बढ्दै गएको विश्वासलाई निरन्तर कायम राख्दै अगाडी बढ्न वि.व्य.स. र शिक्षक कर्मचारीहरुको एकतावद्ध प्रयासको प्रशंसा गर्दै विद्यालयलाई भौतिक एवं आर्थिक रुपमा दिगो रुपमा आत्मनिर्भर बनाउन अभिभावक एवं समुदायको सहयोग महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं सामुदायिक विद्यालय व्यवस्थापनन समिति महासंघका अध्यक्ष कृष्ण थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रधानाध्यापक कृष्णप्रसाद ढुंगानाद्धारा विद्यालयको वार्षिक गतिबिधिबारे प्रष्ट पारेका थिए । त्यसै गरी माघ २१ गते सञ्चालित स्रोत विद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम र माघ २२ देखि २५ सम्म भएको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय छात्र तथा छात्रा भलिबल प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो।
भलिबल प्रतियोगितामा छात्रतर्फ महेन्द्र मावि इचोक प्रथम, तेर्से मावि द्धितीय र सरस्वती मावि ग्याल्थुम तृतीय भएको थियो भने छात्रातर्फ सरस्वती मावि ग्याल्थुम प्रथम, बतासे मावि द्धितीय र तर्से माविले तृतीय स्थान हासिल गरेको थियो ।
पूर्व मेचीदेखि महाकालीसम्मका बिबिध लोक संस्कृति झल्कने विद्यार्थीका सांस्कृतिक प्रस्तुतीहरुले कार्यक्रमलाई निकै रोचक बनाएको देखिन्थ्यो । त्यसैगरी सोही अवसरमा विद्यालयको वार्षिक गतिबिधिलाई समटेर तयार पारिएको वार्षिक बुलेटिन ‘तेर्से दर्पण’ को लोकापर्ण समेत गरिएको थियो । बालविकास केन्द्रदेखि कक्षा १२ सम्म सञ्चालित विद्यालयमा कूल ६२५ जना विद्यार्थीहरु अध्ययनरत छन् भने पछिल्लो समय त्यस भेगको एक उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा समेत परिचित छ ।